पोखरा, २३ असार । नेपाल प्रहरीका महानिरक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम राख्नका लागि कठोर बन्न निर्देशन दिएका छन् । पोखरास्थित सम्पूर्ण प्रहरी कार्यालयका अधिकृतहरुलाई २३ असारमा निर्देशन दिदै उनले कानुनसम्मत रुपमा कठोर बन्न भनेका हुन् ।
अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम राख्न कानुनसम्मत तरिकाले कठोर बन्न परे बन्नुपर्छ, खनालले भने । पछिल्लो समय नेपाल प्रहरी विप्लव नेतृत्वको माओवादी र गुण्डागर्दी नियन्त्रणमा प्रहरी कडा बनिरहँदा आइजपी खनालको अभिव्यक्ति आएको हो ।
अपराध अनुसन्धान सफल पार्न कानुनसम्मत रुपमा कठोर बनेर जानुपर्नेमा उनको जोड थियो । अनुसन्धान टिमलाई अझै बलियो बनाउनुपर्ने भन्दै अपराध अनुसन्धानमा उत्कृष्ट काम गर्न निर्देशन दिए ।
दक्षिण एशियामा नेपाल प्रहरी उत्कृष्ट भएको उल्लेख गर्दै उच्च मनोबलका साथ काम गर्न जोड दिए । बर्दीको इज्जत र प्रतिष्ठा कायम राखेर चुस्त र दुरुस्त काम गर्न निर्देशन दिए ।
कार्यालयको व्यवस्थापन र सरसफाई तथा व्यक्तिगत टर्नआउटमा विशेष ध्यान दिन समेत निर्देशन दिए ।
नेपाल प्रहरीले सूचना प्रविधि, बेरुजु फर्छौटलगायतका काम कारबाहीमा अब्बल भई पुरस्कृत भएको चर्चा गर्दै सूचना व्यवस्थापनलगायतमा ध्यान दिई सकारात्मक कामलाई प्रकाश पार्नुपर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मालगायत उच्च प्रहरी अधिकृतहरुको उपस्थिति थियो ।