Logo

पानी र पहाड बेच्ने प्रस्तावित राजदूतहरुको भिजन



कोही पानी बेच्ने भिजन सुनाउँथे त कोही पहाड काटेर बेच्ने जुक्ति सनाउँथे । सरकारले मन्त्रिपरिषद्को निर्णयबाट सिफारिश गरेका राजदूतहरुको भिजन हो यो ।

२३ असारमा संसदीय सुनुवाईमा राजदूतहरुले देशलाई समृद्ध बनाउन राजदूतका रुपमा आफूहरुले गर्ने पहलका बारेमा सुनाए । उनीहरुको कुरा सुन्दा देश अहिले नै समृद्ध भइसक्यो भन्ने जस्तो लाग्थ्यो ।

बङ्गलादेशका लागि प्रस्तावित राजदूत डा.वंशिधर मिश्रले पहाड काटेर ढुङ्गा बेच्ने योजना सुनाए । बङ्गलादेश समुन्द्री सतहभन्दा निकै कम उचाईमा रहेकाले उसलाई ढुङ्गा र माटोको आवश्यकता बढेको छ ।

महाभारत पर्वत श्रृंखला काटेर बङ्गलादेशमा ढुङ्गा माटो निर्यात गरेर देशलाई लाभ हुने सुनाए । उनले अहिले नै एक खर्मको माग दिन सक्ने बताए । तर, समितिमा चर्को आलोचना भएपछि मिश्रले प्रस्ताव फिर्ता लिए । पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका मिश्र बङ्गलादेशबाहेकमा राजदूत बन्न चाहन्थे । तर, त्यसलाई पनि स्वीकारेर जाँदैछन् ।

कतारका लागि राजदूत सिफारिश नारदनाथ भारद्वाजले कतारलाई पानी बेच्ने भिजन सुनाए । कतारमा पानीको ठूलो माग रहेको र नेपालले त्यो माग पूरा गरेर अरबौं आम्दानी गर्न सक्ने बताए ।

स्पेनका लागि सिफारिश दावाफुटी शेर्पाले पर्यटन विकासमा काम गर्ने बताइन् । उनलाई व्यङ्ग्य गर्दै सांसद योगेश भट्टराईले मेस्सीको टिमबाट नेपाली खेलाडी खेलाउने वातावरणबारे प्रश्न गरेका थिए । तर, उनले त्यसको कुनै जवाफ दिइनन् ।

स्पेनका लागि सिफारिश दावाफुटी शेर्पा र अष्ट्रेलियाका लागि सिफारिश महेश्वर दाहाल पनि विवादमुक्त छैनन् । शेर्पा दिवंगत व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् । उनलाई पैसाको बलमा राजदूत बनेको आरोप लाग्दै आएको छ । दाहालमाथि पत्नी प्रभा दाहालको अमेरिकाको पीआर रहेको उजुरी परेको छ ।

यसैगरी, संसदीय सुनुवाई समिति कर्मकाण्डमा सिमित भयो । उसले सबै राजदूतहरुको नाम अनुमोदन गर्यो । File Photo



प्रतिक्रिया दिनुहोस्