असार २४, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएपछि विभन्न आशंका उब्जिएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन् । उनले बाहिरिँदै गर्दा अर्कै काम परेर निस्किएको प्रतिक्रिया दिएका छन् । तर आकस्मिमक जस्तो देखिने बैठक छोडेर जानुपर्ने अर्को कुन काम पर्यो होला र भनेर धेरैले आशंका गरेका छन् ।
आयातित फलफूल तथा तरकारीको विषादी परीक्षणका सम्बन्धमा बैठकमा छलफल भएको र कमजोरी औँल्याउने क्रममा मन्त्री यादव पनि तारोमा परेपछि आक्रोषमा बैठक छोडेको कतिपयको अनुमान छ ।
सुरुमा मन्त्री यादवले आफू मन्त्रिपरिषद बैठकमा जाँदै नगएको बताएका थिए । तर, तपाईं गएर बीचमै बाहिरिनु भएको होइन र ? भन्ने प्रश्न गरेपछि मात्रै उनले आफू बैठकमा गएको तर धेरैबेर नबसेको स्वीकारेका थिए ।
बैठकमा कसैसँग कुनै विवाद नभएको पनि उनको दावी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसेको थियो ।
आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।
यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दै आएको छ । बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ ।
राजपत्रमा सूचना प्रकाशित गरी सरकारले आयातीत तरकारीको तथा फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउन निर्णय गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ र्गयो । तर, वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण स्थगित र्गयो । प्रयोगशाला अभावमा विषादी परीक्षण स्थगित गरिएको भनिए कृषि मन्त्री चक्रपाणि खनालले संसद्मै प्रयोगशाला अभाव नरहेको जवाफ दिएका थिए ।