Logo

नेपालले एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधि जित्यो



काठमाडौ, २४ असार । हङकङलाई पराजित गर्दै नेपालले एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधिमाथि कब्जा जमाएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । जीतसँगै नेपाल श्रीलंकामा आयोजना हुने युवा एशिया कपको लागि समेत छनौट भएको छ ।

जहाँ नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । हङकङले नेपालसामु जीतका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र १६.१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि ओपनर पवन सर्राफले विस्फोट ब्याटिङ गर्दै सर्वाधिक ३९ रनको योगदान दिए । उनले यसक्रममा ५ चौका र एक छक्का हिर्काए । त्यस्तै रीत गौतमले १३ तथा कप्तान रोहित कुमार पौडेलले १२ रनको योगदान दिए । भीम सार्की ८ रन बनाउँदै नटआउट रहे ।

यसअघि मलेसियाको क्वाललम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिलो ब्याटिङमा उत्रेको हङकङ ४३.१ ओभरमा मात्र ९५ रन मा समेटियो ।

हङकङलाई सस्तोमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए । त्यस्तै, कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए । हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए ।



प्रतिक्रिया दिनुहोस्