Logo

आइजीपी खनालद्वारा भरतपुर—पोखरा—काठमाडौं यात्रा गरी छड्के चेकजाँच



काठमाडौं, २४ असार । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले भरतपुरबाट पोखरा हुँदै काठमाडौंसम्मको यात्राका क्रममा ठाउँ ठाउँका प्रहरी कार्यालयहरुको अवस्था र खटिएका प्रहरीको हालखबर बुझेका छन् । आइतबार भरतपुरस्थित तालिमकेन्द्र पुगेर दिक्षान्त समारोहमा भाग लिएर गृहजिल्ला हुँदै पोखरा पुगेका उनको हवाई मार्गबाट काठमाडौं फर्कने कार्यक्रम तय भएको भनिएपनि स्थलमार्ग हुँदै फर्किएका थिए ।

खनालले बाटोमा पर्ने प्रहरी कार्यालयहरुको अवस्था बुझेका थिए । आइतबार गृहजिल्ला तनहुँको भानु नरगपालिका चन्द्रावतीमा पुगेका थिए उनी । पुख्र्यौली थलो चन्द्रावतीमा प्रहरी चौकीको भवन शिलान्यास गरे । तनहुँकै थर्पुमा पनि प्रहरी चौकीको भवन शिलान्यास गरेर पोखरातर्फ लागे ।

पोखरामा मातहतका प्रहरी अधिकृतहरुलाई सम्बोधन गरेर सोमबार स्थलमार्ग हुँदै काठमाडौं फर्किए । त्यस क्रममा उनले पोखरा देखि तनहुँ, धादिङ र काठमाडौंका प्रहरी कार्यालयको अवलोकन गरे ।

तनहुँको बेलचौतारा, आँबु खैरेनी, मुग्लिङ, गजुरी, नौबिसेलगायतका प्रहरी चौकीमा आइजीपी पुग्दा त्यहाँ खटिएका प्रहरीहरु छक्क परेका थिए । कतिपयले आइजीपीलाई प्रत्यक्ष देखेका पनि थिएनन् । कार्यक्षेत्रमा आइजीपी आउँदा उत्साही भएका थिए उनीहरु ।

आइजीपी खनाल स्थलमार्गको यात्रा रुचाउने र प्रहरीको पीरमर्का बुझ्न कार्यक्षेत्रमा पुगी आफै प्रत्यक्ष भेट्ने गर्दछन् । उनी सिन्धुलीको मार्ग हुँदै फर्कदा पनि विगतमा यसरी नै प्रहरी कार्यालयको निरीक्षण भ्रमण गर्दै फर्केका थिए ।



प्रतिक्रिया दिनुहोस्