काठमाडौं ।राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीति भन्दामाथि उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन्।
मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बढ्दो धर्म परिवर्तनलाई रोक्न नसके समस्या उत्पन्न हुने तर्फ सबैलाई सचेत हुन आग्रह गरे।
समय क्रममा सरकार परिवर्तन हुने, ब्यबस्था परिवर्तन हुने तर प्रकृतिको नियम परिवर्तन नहुने भन्दै अध्यक्ष थापाले आफ्नो धर्म, सस्कृति माथि भईरहेको अतिक्रमण र प्रहार कुनैपनि स्वाभिमानी नेपालीले टुलुटुलु हेरेर बस्न नहुने बताए।
बिश्वकै जेठो, सम्पन्न र प्रभाबशाली सनातन मान्यतालाई कमजोर पार्न भईरहेको षडयन्त्रलाई चिर्न युबा पुस्ता अग्रसर हुनुपर्ने आवश्यकता औल्याए। विश्वका कुनै पनि देशले आफ्नो धर्म, पहिचान र मूल्य मान्यतालाई कमजोर बनाएर प्रगति गर्न नसक्ने ठोकुवा गर्दै थापाले हामिले पुर्खाले दिएको धन सम्पतीको मात्र चिन्ता र रक्षा गर्ने नभई सस्कार र सस्कृतिको पनि रक्षा गर्नुपर्ने बताए।