Logo

हिरासतबाट फरारहरु यसरी भागे यसरी समातिए



ललितपुर, २६ असार । ललितपुरको जावलाखेलस्थित महानगरीय प्रहरी परिसरमा हिरासतमा ठाउँ अभाव भएर भैंसेपाटीस्थित प्रभागमा लगेर तीनजना अभियुक्तलाई राखियो । डकैती र लागू औषध कारोबारको घटनाका अभियुक्तहरु अनुसन्धानका क्रममा थिए ।

हिसारतमा पुगेपछि तीनै जना नजिकिए । उनीहरु थिए रामेछापका रुद्रलाल श्रेष्ठ र शमशेर माझी जो डाँकाका अभियुक्त थिए । अर्का अभियुक्त लागूऔषधको मुद्दामा परेका थिए ।

उनीहरुले गेदावरी नगरपालिका छम्पीस्थित केशव थापाको घरबाट १५ वैशाखको साँझ धनमाल डाँका चोरी गरेका थिए । पेशेवर चोरी र डाँका गर्ने उनीहरुले लगनखेलस्थित बसपार्कको स्पिड सर्भिस प्रा.लि.बाट चाबी तोडी २८ वैशाखमा धनमाल चोरी गरेका थिए ।

अर्का, अभियुक्त थिए रवीनकुमार तिमिल्सिना । उनी लागूऔषध ओसारपसारमा संलग्न रहेकोमा अनुसन्धानका लागि हिरासतमा थिए । हिरासत नै उनीहरुका लागि अवसर भयो । तीनैजना मिले । योजना बनाए ।

२३ असारको राति हिरासत नजिक रहेको शौचालयको झ्यालमा रहेको रड काटेर फरार भए । उक्त घटनापछि ललितपुर प्रहरीमा हलचल नै आयो । प्रहरी अधिकृतहरु तनावमा परे । उनीहरुले अपराध अनुसन्धान गरी २४ घन्टाभित्र दुई अभियुक्त पक्राउ गरे । तर, अर्का एकजना फरार छन् । प्रहरीले रवीनकुमार तिमिल्सिनाको खोजी भइरहेको जनाएको छ ।

अपराध अनुसन्धान महाशाखाको टोलीले निकै मिहेनत गरेर श्रेष्ठ र माझीलाई बौद्धस्थित जम्बुडाँडाबाट समात्यो । अब उनीहरुमाथि थप कारबाही हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot