Logo

भारी वर्षाले काठमाडौंको जनजीवन प्रभावित (फोटोफिचर)



काठमाडौं । देशका अधिकांश स्थानमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । कतिपय स्थानमा आज भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । अहिले पनि देशभर लगातार मनसुनी वर्षा भइरहेको छ । मनसुनी समयमा जमिन तातेपछि पानीका कण बोकेको हावाले निश्चित ठाउँमा एउटा प्रणालीको विकास गराउँछ ।

यो समयमा ठाउँ–ठाउँमा तातेको जमिनमाथिको जलवाष्पयुक्त हावाले वायूमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ । मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखा भन्ने गरिन्छ । यही रेखाका कारण आज देशैभर बदली भई ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पश्चिमी भूभागका केही ठाउँ, मध्य र पूर्वका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा अति ठूलो वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।आज राति पनि पूर्ण बदलीको सम्भावना रहेकाले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ । यस्तै, पानीसँगै हावाहुरी पनि चल्ने भएकाले थप सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्