Logo

प्रहरीको साँठगाँठमा दुर्घटनामा नक्कली चालक खडा



काठमाडौं, २७ असार । मोटरसाइकललाई जीपले ठक्कर दिदा नन्दकली शर्माको निधन भयो । गैंडाकोटमा भएको घटनापछि बा २० च १७७९ नम्बको जीपका चालक बोधराज पाण्डे पक्राउ परे ।

घटनाको अर्को रात अर्को चालक खडा गरियो । किशुनी महतोलाई चालक खडा गर्न प्रहरी देखि जीप धनीसमेतको मिलेमतो भयो । घटनाको अनुसन्धान गर्ने प्रहरीले नै बेइमानी गर्यो ।

नक्कली चालक खडा गरेर दुर्घटनामा मान्छे मारिएको विषय मिलाउन रकमको लेनदेन भयो । वास्तविक चालकको स्थानमा नक्कली चालक किशुना महतोलाई खडा गर्न शालिकराम पाण्डेले विचौलियाको भूमिका खेले ।

का प्रहरी निरीक्षक लोकबहादुर जी.सी. पैसाको लोभमा परी नक्कली चालक खडा गर्ने भूमिकामा संलग्न भए । यसमा अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देव बहादुर थापा र सडक दुर्घटना प्रतिवेदन तयार पार्ने प्रहरी हवल्दार बल बहादुर वली समेतले गलत अनुसन्धान प्रतिवेदन तयार गरे । अख्तियारका अनुसार गलत प्रतिवेदन तयार गरी कसुर गरेको पुष्टि भएको पाइएको छ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक लोक बहादुर जि.सी.ले घाइते पक्षसंग सहमति कागजमा चालकको नाम किशुना महतो भनी उल्लेख गर्न निर्देशन दिएकोमा सई देव बहादुर थापाले चालकको नाम किशुना महतो भनी उल्लेख गरी सहमति कागज गरी लोक बहादुर जि.सी.ले किशुना महतोलाई  इलाका प्रहरी कार्यालय गैंडाकोटमा बोलाई कानुनबमोजिम दिनु पर्ने पक्राउ पुर्जी थुनुवा पुर्जीसमेत नदिई स्वास्थ्य परीक्षण बिना नै निज किशुना महतोलाई अदालतबाट अनुमति नै नलिई कानुनविपरीत हिरासतमा राखी घाइते नन्दकली शर्माको उपचारको क्रममा मृत्यु भएपश्चात किशुना महतोको नाममा किटानी जाहेरी पार्ने परिपन्च मिलाईदिएका थिए ।

लोक बहादुर जि.सी.कै निर्देशनमा किशुना महतोलाई पक्राउ गरी बदनियतपूर्वक भए गरेका कुरा लुकाइछिपाई वारदातको समयमा चालक नै नभएका किशुना महतोलाई नक्कली चालक खडा गरी वास्तविक चालक बोधराज पाण्डेलाई उन्मुक्ति दिई गलत अनुसन्धान प्रतिवेदन पेश गरेका थिए।

अख्तियारका अनुसार सवारी दुर्घटनामा मानिसको मृत्यु भएको जस्तो संवेदनशील मुद्दाको गहन अनुसन्धान गर्नुपर्नेमा अपराधमा सम्लग्न वास्तविक व्यक्तिलाई उन्मुक्ति दिने निरअपराधीलाई दोषी देखाउनेसम्मको कार्य गरेको पुष्टि भएको छ।

ईलाका प्रहरी कार्यालय गैंडाकोट, अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराईले घटनास्थलमा अनुसन्धान अधिकृतको रुपमा कार्यरत रही बदनियतपूर्वक भए गरेको कुरा लुकाई छिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी प्रतिवेदन पेश गरी नक्कली चालक खडा गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक देव बहादुर थापाले इ।प्र।का।, गैंडाकोटका तत्कालीन प्रमुख लोक बहादुर जि.सि. को निर्देशनबमोजिम चालक किशुना महतोको नाम उल्लेख गरी सहमति कागज गरेका थिए ।

उक्त वारदातका वास्तविक चालक बोधराज पाण्डे भएको जानी जानी निजले सो बेला लोक बहादुर जि.सी.को निर्देशनमा चालकको नाम किशुना महतो भनी उल्लेख गरी उक्त वारदातमा वास्तविक चालक परिवर्तन गरी किशुना महतो खडा गरी बदनियतपूर्वक भए गरेको कुरा लुकाईछिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी प्रतिवेदन पेश गरेको पाइएको अख्तियारले जनाएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका तत्कालीन कमाण्डर बल बहादुर वलीले वारदातका वास्तविक चालक बोधराज पाण्डे भएको जानी(जानी नै वारदातको समयमा सवारी नै नचलाएका किसुना महतोलाई चालक उल्लेख गरी सडक दुर्घटना प्रतिवेदन तयार पारी भए गरेको कुरा लुकाईछिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी सडक दुर्घटना प्रतिवेदन पेश गरेकोमा चार जना इलाका प्रहरी कार्यालय गैंडाकोटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक लोक बहादुर जि.सी., प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देव बहादुर थापा र अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका तत्कालीन कमाण्डर बल बहादुर वलीमाथि कानुन अनुसार सजाय र बिगोदाबीसहित आरोपपत्र दायर गरेको छ ।

साथै नक्कली चालक किशुना महतोले आफ्नो साहु बोधराज पाण्डेको लाभको लागि म नै चालक हो भनी झुठ्ठा विवरण दिई अनुसन्धानको क्रममा राष्ट्रसेवकलाई गलत प्रतिवेदन तयार गर्न सहयोग गरेको अख्तियारले जनाएको छ ।

वास्तविक चालक बोधराज पाण्डेले चलाएको बा।२०च। ११७९ नं। को जिप र विपरित दिशाबाट आएको ना।२८ प ४६८५ नं।को मोटरसाइकल एकआपसमा ठक्कर खाएकोमा ईलाका प्रहरी कार्यालय गैडाकोटमा उपस्थित भएको र उक्त रात निजलाई स्वास्थ्य परीक्षण गरी प्रहरी कार्यालयमै राखिएको, चालक परिवर्तन गरेको विषयमा आफ्नो बयान कागजमा वारदातको समयमा जिप चलाउने मानिस किशुना महतो नभै निज बोधराज नै भएको भनी साविती बयान दिएको पत्ता लागेको थियो ।

चालक किशुना महतोलाई शालिकराम पाण्डेसँग मिली बनाएको योजना अनुसार चालक हो भन्न लगाई तथा घाइते पक्षसँग सहमतिको समयमा आफ्नो फाइदाको लागि किशुना महतोलाई झुठ्ठा विवरण दिनको लागि तयार गरी चालकको नाम किशुना महतो उल्लेख गरी झुठ्ठा विवरण दिन लगाई प्रहरी कर्मचारीलाई गलत प्रतिवेदन दिन सहयोग पुर्यााइएको थियो ।

शालिकराम पाण्डेले बोधराज पाण्डेसँग चालक परिवर्तन गर्ने सल्लाह योजनाबमोजिम नै इलाका प्रहरी कार्यालयका तत्कालीन प्रमुख लोक बहादुर जि.सी.लाई समेत सहमत गराई सोही अनुसार चालक परिवर्तन गरी नक्कली चालक खडा गरी वारदातको समयमा सवारी नै नचलाएका किशुना महतोलाई चालक हो भनी झुठ्ठा विवरण दिने योजनादेखि कार्यान्वयनसम्मको कार्य निजकै संलग्नतामा भई मतियारको भूमिका निभाएको पुष्टि हुन आएकोमा तीन जना नक्कली चालक किशुना महतो, वास्तविक चालक बोधराज पाण्डे र शालिकराम पाण्डेमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्