Logo

गोदावरी खोलाले जीप बगायो, पुल नबन्दा ‘नाकाबन्दी’



ललितपुर, २८ असार । बाढीले गोदावरी खोलाको बहाव खतराभन्दा माथि पुगेपछि महालक्ष्मी नगरपालिकाका बासिन्दामाथि नाकाबन्दी लागेको छ । दुई आर्थिक वर्ष बितिसक्दा पनि अन्र्तगत सिद्धिपुर-लुभु जोड्ने मुख्य सडकको पुल निर्माण पूरा नहुँदा दशौं हजारलाई नाकाबन्दी लागेको छ ।


अविरल वर्षाका कारण आएको बाढीले अस्थायी आवागमनका लागि राखिएको ढलभन्दा निकै माथि पानीको सतह पुगेपछि वडा नम्बर ७,८,९ र १० का बासिन्दा खोला वारपार गर्न पाएका छैनन् । शुक्रबार विहान अस्थायी कलभर्ट तरेर गएकाहरु साँझ घर फर्कन सकेनन् । फर्केर आफन्तकोमा बस्न पुगे । कोही वैकल्पिक मार्ग खोज्दै हिंडे ।


यसै आर्थिक वर्षभित्र सम्पन्न भइसक्नुपर्ने पुल विभिन्न बहानामा पूरा हुन सकेको छैन । पुलको तल्लो पिलर मात्र जोडिएको छ । ग्वार्को लामाटार सडक खण्डको गोदावरी खोलाको पुल नबन्दा गत वर्ष पनि जीप बगाएको थियो । यस वर्ष पनि बगाउन लागेको जीपलाई स्काभेटरको सहायताले निकालियो ।

पुल समयमा नबन्दा स्थानीयवासी जनप्रतिनिधिहरुसँग आक्रोशित भएका छन् । उनीहरुले कामभन्दा कुरा धेरै गरेको भनी असन्तुष्टि पोखेका छन् ।

सिद्धिपुरबाट बिसनडोल हुँदै लुभु जाने वैकल्पिक मार्ग पनि निर्माणाधीन भएकाले हजारौं बासिन्दालाई आवतजावत् गर्न कठिनाई परिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्