Logo

रातभर अविरल वर्षा हुँदा जनधनको क्षति बढ्यो



काठमाडौं, २८ असार । देशभर अविलर वर्षा कायमै छ । २६ असारको साँझ देखि परेको पानी २८ असारको विहानसम्म पनि रोकिएको छैन । अविरल वर्षाका कारण देशभर जनधनको थप क्षति भएको छ ।

देशभरका नदीको शतक बढेको छ । बाढीले अधिकांश नदी र खोलाहरुको बहाब खतराभन्दा माथि पुगेको छ ।

कहिले हल्का त कहिले मध्यम अनि बेला बेलामा भारी वर्षा हुँदा नदी किनार र पहिरोको खतरा भएका ठाउँका बासिन्दा त्रसित भएका छन् ।
गृह मन्त्रालय र नेपाल प्रहरीको विवरण अनुसार हालसम्म १९ जनाको मृत्यु भएको छ । १३ जना वेपत्ता हुनुका साथै ११ सय ७५ जना विस्थापित भएका छन् ।

सबैभन्दा बढी काठमाडौं र खोटाङमा तीन तीन जनाको मृत्यु भएको छ । काभ्रेमा दुई जनाको मृत्यु भएको छ । भोजपुर, रामेछाप, सिन्धुली, ललितपुर, मकवानपुर, धादिङ र पर्सामा एक एक जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ ।

मोरङ्ग, सुनसरी, महोत्तरी, पाँचथर, काठमाडौं र इलाममा एक एक जना वेपत्ता भएका छन् । रौतहटमा पाँच, सिराहा र काभ्रेमा दुई, सर्लाही, खोटाङ, रामेछाप र ललितपुरमा एक एक जना घाइते भएका छन् ।

सबैभन्दा बढी मोरङ्गमा एक हजार घरपरिवार वेपत्ता भएका छन् । बारामा एक सय ७५ घरपरिवार वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । कुल एक सय ५३ जनाको उद्दार गरिएको छ ।

देशभर मनसुन सक्रिय रहेको र पूर्वी तराई तथा मध्य तराईको पूरै क्षेत्रमा वर्षाको प्रभाव रहेको छ । काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पहिरो र पर्खाल मृत्युको कारण बनेको गृहले जनाएको छ ।

वर्षाका कारण ज्यान गुमाउनेहरुको नाम र कारणः

पर्साका निखिल पटेल

भोजपुरका जनक वि.क.

रामेछापकी पदमकुमारी सुनुवार गोठ भत्कदा

सिन्धुलीकी हेमकुमारी सुनुवार गोठ बगाउँदा

काभ्रेका गोमा दंगाल र सुहावी दंगाल

ललितपुरका सरोज तामाङ घर बगाउँदा

काठमाडौं मुलपानीका सर्मिला यादव, नितु यादव र कुन्दन यादव चोक नजिकको ट्रष्टको वाल भत्कदा

धादिङकी अस्मिता तामाङ घर पहिरोले बगाउँदा

खोटाङका रेखा राई, रोमन राई र रोहन राई पहिरोले घर बगाउँदा

मकवानपुरको थाहा नगरपालिकाकी सन्तमाया बलामी

 

पहिरोले अवरुद्ध सडकहरु

वीपी राजमार्ग, काभ्रे
पूर्व पश्चिम राजमार्ग, रौतहट सर्लाही खण्डमा बाटोसम्म पानीको डुबान
सुनसरी रामधुनी ६
धनकुटा पाख्रिबास
गाईघाट खोटाङ सडक, उदयपुर रौतामाई
खोटाङ हलेसी, तुवाचुङ
ओखलढुङ्गा मनेभञ्ज्याङ
सिन्धुली गोलञ्जोर
रामेछाप मन्थली
ललितपुर महाकाल हेटौंडा राजमार्ग
कान्तिपथ
त्रिभुवनपथ
लमजुङ मनाङ



प्रतिक्रिया दिनुहोस्