एजेन्सी, २८ असार । भारतकी चर्चित अभिनेत्री तथा सांसद हेमा मालिनी फेरि चर्चामा आएकी छिन् । लोकसभा चुनावको प्रचारका क्रममा गहुँ काट्दै गरेको फोटो पोष्ट गर्दा उनको निकै चर्चा भयो ।
खेतमा पुगेर हेमा मालिनीले हँसियाले गहुँ काट्दै गरेको तस्वीर भाइरल भएको थियो । यसलाई धेरैले उनको राजनीतिमा चलचित्रको शैलीमा गरेको अभिनय भने ।
यसपटक हेमा मालिनीले भारतको संसद परिसर बडारिन् । उनीसँगै अर्थराज्यमन्त्री पनि थिए । स्वच्छ भारत अभियान अन्र्तगत उनले बडारेकी हुन् ।
हेमा मालिनीले यसै पनि सफा रहेको संसद भवन बडारेको भन्दै आलोचना भएको छ । लामो कुचो लिएकी हेमा मालिनी कालो चश्मा र स्कार्फमा थिइन् । उनको वरिपरि संसदका कर्मचारी र सुरक्षाकर्मी थिए ।
मथुराबाट चुनाव जितेकी हेमा मालिनी सदावहार नायिकाको परिचय बनाउन सफल छिन् । भारतीय जनता पार्टीकी सांसद बनेपछि उनी झन् चर्चामा छिन् ।
कुनैबेला विहारका तत्कालिन मुख्यमन्त्री लालुप्रसाद यादवले हिमा मालिनीको सुन्दरताको खुबै प्रशंशा गर्थे । चुनाव प्रचारका क्रममा विहारको सडकलाई हिमा मालिनीको गाला जस्तै चिल्लो बनाउँछु भन्थे ।