Logo

‘सरकारले बाढी, पहिरो पीडितलाई राहतको प्याकेज घोषणा गर्छ, सरकार स्ट्याण्डवाई छ’



काठमाडौं, २८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सरकारले बाढी, पहिरो पीडितलाई आजै राहतको प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले केन्द्रिय राहत व्यवस्थापन समितिको बैठक जारी छ । सरकारले पीडितहरुलाई विशेष राहतको घोषणा गर्छ ।’

सरकारले उद्धार तथा राहतको लागि हेलिकप्टर पनि तैनाथ (स्ट्याण्डवाई) राखेको जनाउँदै बस्नेतले भने,‘सरकारले त्रिपाल, खाद्य सामाग्री, पानीको उचित व्यवस्थालगायत सबै तयारी अवस्थामा राखेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत सबै तयारी अवस्थामा छन् ।’ उनले आवश्यक सबै सुरक्षा निकायलाई परिचालन गर्ने जनाए ।

उनले भक्तपुरमा यो वर्ष हनुमन्ते खोलाको बाढीले विगतजस्तो ठूलो क्षति नपुर्याएको दाबी गरे । उनले आफूहरुले बाढी व्यवस्थापनको लागि योजना बनाएर काम गरेकोले यो वर्ष त्यस्तो ठूलो क्षति नभएको स्पष्ट पारे । उनले भने,‘अघिल्लो वर्ष ११३ मिलिलिटर पानी पर्दा पनि क्षति भएको थियो, तर यो वर्ष १३२ मिलिलिटर पानी पर्दापनि ठूलो क्षति भएको छैन् । भक्तपुरमा अहिले खास क्षति र डुवान छैन् ।’

सरकारले खोला तथा नदिको छेउमा तटबन्ध निर्माण गरेको र पानीको बहाव नियन्त्रण गर्ने काम पनि गरेको सुनाए । बाढि तथा पहिरोका कारण अवरुद्ध रहेका सबै सडक तथा राजमार्गहरु सुचारु गर्ने काम पनि तिव्र गतिमा भैरहेको उनले सुनाए । अहिले सबै नेपालीहरुले बाढि, पहिरोमा परेका पीडितहरुलाई उद्धार तथा राहत गर्नुपर्ने बेला भएकोले सोही अनुसार सबै दलले आफ्ना नेता तथा कार्यकर्ता परिचालन गर्नुपर्ने बस्नेतको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot