Logo

बाढी-पहिरोमा परी ३० को मृत्यु, १८ बेपत्ता



काठमाडौं, २८ असार। अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ । बाढी–पहिरोमा परी १८ व्यक्ति बेपत्ता छन् । १२ जना घाइते भएका छन् ।

बाढी–पहिरोमा परी ललितपुरमा पाँचजना, काठमाडौं, खोटाङ र काभ्रेमा तीन/तीनजना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई/दुईजना तथा ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक/एकजना गरी ३० जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बाढी–पहिरोमा परी सिन्धुलीमा चारजना, भोजपुरमा तीनजना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट र धादिङमा एक/एकजना गरी १८ जना बेपत्ता भएका छन् ।

यस्तै, मकवानपुरमा चारजना, काभ्रेमा दुईजना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक/एकजना गरी १२ जना घाइते भएका हुन् ।

बाढी–पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा दुईजना, सिराहमा दुईजना, भक्तपुर, सुनसरी र मकवानपुरमा एक/एकजना गरी १३३ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्