Logo

चक्रपथ सफाई अभियानद्वारा पत्रकार धमला सम्मानित, खनालले गरे प्रशंसा



काठमाडौं, २८ असार । चक्रपथ सफाई अभियानले पत्रकार ऋषि धमलालाई सम्मान गरेको छ । सफाई अभियानको एक सयौं हप्ता पुगेको अवसरमा आज आयोजित विशेष कार्यक्रममा पत्रकार धमलालाई नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मान गरेका हुन् ।

पत्रकारिताको माध्यामबाट चक्रपथ सफाईमा निरन्तर सक्रिय रहेको र जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार धमलालाई सम्मान गरिएको अभियानले जनाएको छ । चक्रपथ सफाई अभियानको सुरुवातदेखिनै पत्रकार धमला जोडिएका छन् । उनी निरन्तर सफाई अभियानमा सरिक हुँदै आएका छन् ।

अभियानका संयोजक ताराबहादुर कुँवर र संरक्षक श्रीकृष्ण सिम्खडाको उपस्थितिमा पत्रकार धमलालाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले धमलाको सक्रियता र सफाई अभियानप्रति देखाएको चासो र भूमिकाको खुलेर प्रशंसा गरेका थिए । खनालले चक्रपथमात्रै नभई अब हरेक क्षेत्रमा सफाईको खाँचो रहेको आवश्यकत्ता औंल्याए ।

यता, सम्मानित भएपछि संक्षिप्त भनाई राख्दै पत्रकार धमलाले सफाई अभियानमा सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने सुझाए । त्यतिमात्रै नभएर उनले देशको मूल नीति भनेको नै राजनीति भएकोले अहिले यसको मुहानमै फोहोर थुप्रिएकोमा चिन्ता व्यक्त गरे ।

उनले थपे,‘राजनीतिको मुहान फोहोरले धमिलिएको छ, यसलाई सफाई गर्नुपर्छ । राजनीति सफा नहुँदा समाज नै दुषित बनेको छ । आजैबाट यसको सफाईमा पनि लाग्नेतर्फ सबै दलले ध्यान दिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्