नेपालटार : उदयपुर, २८ असार । उदयपुरगढी गाउँपालिका ६ को धम्पर तीन टाट्ने डाँडामा पहिरो जाँदा नेपालटार भ्याली जोखिममा परेको छ । आज विहान ११ बजेतिर गएको पहिरोले बैजनाथ, पौवा र तेलतेले खोला थुनिँदा खोलो फर्केर नेपालटार डुवानमा परिणत हुँदै गएको हो ।
खोलो फर्केर भकुण्डे चौर (फूटबल खेल्ने मैदान) हुँदै बैजनाथ खोला र पौवा खोलाको दोभानसम्म आईपुगेको र अहिलेसम्म दश घरजति डुवानमा परिसकेको स्थानीय बोधकुमार घिमिरेले जानकारी दिए । उनी भन्छन्–‘पहिरोले पाँच घर बगाएको र खोलाकोबीचमा परेको मैनबहादुर सार्कीको घर परिवारलाई उद्दार गर्न कठिनाई परेको छ, हेलिकोप्टरविना उद्धारको लागि अन्य उपाए छैन ।’
स्थानीय जिल्ला प्रशासन कार्यालय, आर्मी, जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई समेत खबर भैसकेको छ आउने क्रममा छन् । कुनै पनि हालतमा थुनिएको खोलो खोल्ने उपाए गरिएन भने रातभरमा तल्लो जग्रेटार र माथिल्लो जग्रेटार हुँदै नेपालटार बजारसम्म डुबाउने छ ।
दनुवारबेसीमा थुनिएको खोलालाई सम्यमित ढङ्गले खोल्न सकिएन र यदि आफैं फुटेको खण्डमा त्यसभन्दा तलका गाउँहरु गैया, सोमबारे, बकपति, सुगारे, रिस्कू र कटारी बजार सम्मलाई ठूलो क्षति पुर्याउने पनि स्थानीयहरुले दाबी गरेका छन् ।
सानोतिनो हिसाबले छेउमा जानसक्ने अवस्था समेत नरहेको स्थानीयहरुको भनाई छ । यद्धपी जोखिममा परेकाहरुलाई सुरक्षितं ठाउँमा सार्ने काम भैरहेको छ । तस्विर : घनश्याम श्रेष्ठ र बोधकुमार घिमिरे/उदयपुर