Logo

‘सभामुख महाराको भूमिका नै आपत्तिजनक’ : भट्टराई



काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन् ।

संसदको आज (सोमबार) को बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढि, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो आलोचना गरेका हुन् । उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे । जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ । उनीहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै खोटाङबाट निर्वाचित नेकपाका सांसद विशाल भट्टराईले आफूहरुले जनताको दुःखको कुरा सार्वभौम संसदमा सुनाउन नपाएको गुनासो पोखे । उनले भने,‘अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । सवारी आवातजावत अवरुद्ध छन् । जनताको आवासमा ठूलो क्षति पुगेको छ । तर, यस्तो प्राकृकित विपतिको बेलामा पनि संसद स्थगित् गरियो । हामी चाहन्थ्यौं संसदले यो संकटको निवारण गरोस भनेर । तर, कांग्रेसले विगतको घट्नाक्रमलाई हेरेर हठ देखायो । आयोग गठनको माग गरेर संसद अवरुद्ध गर्नु गलत हो ।’

 

भट्टराईले सभामुख महाराको भूमिकाप्रति पनि आपत्ति जनाए । उनले भने,‘सभामुखज्यूले संसद बैठक स्थगित गर्नुभयो । यसमा हाम्रो घोर आपत्ति छ । यो खेदजन्य कुरा हो । यथाशिघ्र बैठक बोलाउनुपर्छ । संसदलाई बन्धक बनाउनुहुँदैन् ।’ उनले सबै दलहरुबीच सहमति र एकता कायम गरेर संसद सुचारु गर्नुपर्नेमा जोड दिए । उनले खोटाङमा तीन जनाको निधन भएको र एक जना घाईते भएको सुनाए । बाढि, पहिरोका कारण खोटाङमा एक किलोमिटर पनि आवातजावात हुन नसकेको भट्टराईले सुनाए ।



प्रतिक्रिया दिनुहोस्