Logo

‘कांग्रेसको अकर्मण्यताका कारण आजको बैठक स्थगित भयो’ : सिलवाल



काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन् ।

संसदको आज (सोमबार) को बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढि, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो आलोचना गरेका हुन् । उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे । जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ । उनीहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे ।

ललितपुरबाट निर्वाचित नेकपाका सांसद नवराज सिलवालले संसद स्थगित् गरिएकोमा गम्भिर आपत्ति जनाए । उनले भने,‘मुलुक अहिले बाढि, पहिरो र डुवानबाट प्रताडित छ । सयौं घरहरु भत्किएका छन् । बाटाघाटाहरु अवरुद्ध छन् । यस्तो बेलामा संसद सुचारु गरेर गृह मन्त्रालयले आफ्नो कामहरु प्रस्तुत गर्नुपर्दथ्यो । हामीले पनि आफ्ना कुरा राख्न पाउनुपर्दथ्यो । तर, संसद बैठक स्थगित गरियो । यसमा हाम्रो घोर आपत्ति छ ।’

 

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अकर्मण्यताका कारण आजको संसद बैठक स्थगित भएको आरोप लगाए । उनले भने,‘यसले के देखाउँछ भने कांग्रेस मुलुक र जनताप्रति जिम्मेवार छैन । मुलुक यतिवेला बाढि, पहिरोबाट आक्रान्त बनेको छ । यस्तो बेलामा संसद बैठक बस्नुपर्दथ्यो । तर, कांग्रेस जिम्मेवार भएर प्रस्तुत भएन् ।’

उनले कांग्रेसले सानोतिना मुद्दामा अल्झिन नहुने सुझाव दिए । उनले भने,‘संसदलाई बन्धक बनाउनुहुँदैन् । कांग्रेसको व्यवहारले लोकतन्त्र बलियो हुँदैन् ।’ उनले कांग्रेसलाई गैरजिम्मेवारीपूर्ण कामबाट पछि हट्नको लागि पनि आग्रह गरे ।

त्यस्तै, उनले सरकारले पनि उद्धार तथा राहतको कामलाई तदारुकताका साथ अघि बढाउन आग्रह गरे । उनले संसद तुरुन्त सुचारु गर्नपनि आग्रह गरे । बाढि, पहिरो र डुवानबाट प्रभावित बनेका २८ जिल्लामा नै सरकराले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर पीडित जनालाई राहत दिन सिलवालले सुझाव दिए ।

उनले सुरक्षा निकायले राहत तथा उद्धारमा देखाएको सक्रियता र भूमिका प्रशंसनीय रहेको सुनाए । उनले भने,‘म गृहमन्त्रालयको भूमिकालाई प्रशंसा गर्न चाहन्छु । सुरक्षा निकायको भूमिका पनि उच्च प्रशंसनीय छ । गृहमन्त्रालयले आफ्नो कामलाई अझै प्रभावकारी बनाउनुपर्छ । आफ्नो साधन र स्रोतलाई भरपुर उपयोग गर्नुपर्छ ।’ अझैपनि कतिपय ठाउँमा राहत पुग्न नसकेको भन्दै सरकारले त्यसतर्फ ठोस कदम चालोस भन्ने उनको सुझाव थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot