Logo

‘सरकारले राहत तथा पूनस्र्थापनाको काम द्रुत गतिमा गर्नुपर्छ’ : राई



काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन् ।

संसदको आज (सोमबार) को बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढि, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो आलोचना गरेका हुन् । उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे । जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ । उनीहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे ।

उदयपुरबाट निर्वाचित नेकपाका सांसद सुरेश राईले पनि राष्ट्रिय विपतिको यस्तो घडीमा संसद बैठक स्थगित् हुनु दुःखदायी र खेदजनक भएको टिप्पणी गरे । उनले भने,‘अहिलेपनि पीडितहरुको अवस्था दयनीय छ । तर, कांग्रेसले संसद अवरुद्ध गरेर गलत चरित्र देखायो ।’ यस्तो बेलामा संसद बैठक बसेर अझै सरकारको भूमिका प्रभावकारी बनाउनको लागि छलफल तथा बहस हुनुपर्ने थियो भन्ने उनको भनाई छ ।

 

उनले बाढि, पहिरोबाट प्रभावित सबै जिल्लाका पीडितहरुलाई राहत तथा उद्धारमा सबैले एकतावद्ध हुनुपर्ने र सोहीअनुसार भूमिका निर्वाह गर्नुपर्ने बेला भएको सुनाए । उनले भने,‘विपदको घडीमा विपक्षी दलले जस्तो भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यो गरेन । त्यसैले कांग्रेसको भूमिका प्रभावकारी भएन् ।’ कांग्रेसले यस्तो बेलामा राजनीतिक हठ देखाउन नहुने उनको सुझाव छ । संसदलाई बन्धक बनाएर आफ्नो हठ पूरा गर्ने सोच नराख्नपनि उनले कांग्रेसलाई चेतावनी दिए ।

उनले उदयपुरको हकमा अहिलेसम्म मानवीय क्षति नभएपनि एक जना गम्भिर घाईते भएको सुनाए । उनले भने,‘अहिलेसम्मको डाटाअनुसार १६१ घर पूर्ण क्षति भएका छन् । अब पीडितहरुलाई सरकारले राहत तथा पूनस्र्थापनाको लागि द्रुत गतिमा काम गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot