Logo

कांग्रेस र राजपा जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ : श्रेष्ठ



काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन् ।

संसदको आज (सोमबार) को बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढि, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो आलोचना गरेका हुन् । उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे । जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ । उनीहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे ।

सिरहाबाट निर्वाचित नेकपाका सांसद लिलानाथ श्रेष्ठले मुलुक अहिले राष्ट्रिय विपतिको अवस्थामा भएकोले यस्तो बेलामा सबै दलहरु एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने बताए । उनले भने,‘आज संसद चल्छ र आफ्नो कुरा राखौंला भनेको त एक्कासी सदन स्थगित् भयो । यो दुःखद् कुरा हो ।’

 

उनले सिरहाको हकमा कमला नदीको बाँध फुटेर ठूलो क्षति पुगेको सुनाए । अहिले पाँच हजार घरपरिवार आंशिक रुपमा प्रभावित बनेको र पाँच सय घर पूर्ण क्षति भएको उनले सुनाए । उनले भने,‘सिरहामा दलितहरुको ठूलो बस्ती छ । उनीहरुको फुसको घर छ । सबै डुवानमा परे । अहिले राहत पुर्याउनसमेत ठूलो समस्या छ ।’

श्रेष्ठले कल्याणपुर गाविसका चार वडा पूर्ण रुपमा डुवानमा परेको सुनाए । त्यहाँका वासीहरुको जीवन कष्टकर र पीडादायी बनेको उनको भनाई छ । अहिलेसम्म चार जनाको निधन र एक जना बेपत्ता भएको श्रेष्ठले डाटा सुनाए । उनले कांग्रेस र राजपा अब जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot