Logo

जेलबाट छुटेर लुटपाटको योजना



काठमाडौं, ३० असार । “मेड इन इटाली” लेखिएको स्वचालित पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गोंगबु नयाँ बसपार्कस्थित नेपाल तारा गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु सबे जेलमा बस्दा संगठित भई छुटेपछि लुटपाटको योजनामा संलग्न थिए ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने झापा गारामुनि गाउँपालिका-७ घर भएका ३६ वर्षीय सबिन खबास, नुवाकोट लिखु गाउँपालिका-४ घर भएका ३७ वर्षीय राम कुमार राई र सोही ठाउँ घर भएका २७ वर्षीय प्रितम राई रहेका छन् ।

फरार अपराधी पक्राउ एवं गैरकानुनी क्रियाकलाप बिरुद्ध संचालन गरिएको बिशेष अभियान अन्तर्गत लुटपाटको योजना सहित केही व्यक्तिहरु बसिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सबिन २०७३ फागुन १९ गते नुवाकोट ह्याङफेदी-७ बस्ने मनदोर्जे तामाङलाई अपहरण तथा शरिर बन्धक मुद्दामा हतियार सहित पक्राउ परी २०७५ मंसिर ४ गते डिल्लीबजार कारागारबाट छुटेको, प्रितम जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट २०७५ मंसिर २२ गते ज्यान मार्ने उद्योगमा पक्राउ परेको तथा राम कुमार जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट सार्वजनिक अपराधमा पक्राउ परेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

 

कारागारबाट छुटेपछि सबिनले समूह खडा गरी लुटपाटको योजना बनाएको खुल्न आएको छ । असार २९ गते सबिनले मोटो रकम आउने काम छ भनी प्रितम र रामकुमारलाई हतियार लिई आउनु भनी फोन गरी नुवाकोटबाट काठमाडौं बोलाए पश्चात् नुवाकोटबाट राम कुमार हतियार लिएर आएको र काठमाडौं टोखामा भेट भई सुन लुट्ने योजना बनाई रामकुमारले प्रितमलाई हतियार राख्न दिएको र चक्रपथस्थित क्याफेमा छलफल गरी लुटपाटको योजना बनाइ उक्त गेष्टहाउसमा गई कोठा लिएर योजना बनाई बसिरहेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । Photo: Twitter



प्रतिक्रिया दिनुहोस्