Logo

ओलीविरुद्ध नेकपाभित्र मोर्चाबन्दी



रिपोर्टर्स नेपाल विशेष, ३० असार । नेपाल कम्युनिष्ट पार्टीभित्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दीले नयाँ मोड लिएको छ । प्रभावशाली नेता वामदेव गौतमको पहलमा मोर्चाबन्दीले आकार लिएको हो ।

गौतमको सक्रियतामा ओलीलाई एक्ल्याउने गरी प्रभावशाली नेताहरुलाई एक बनाउने पहल भएको हो । यसका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल देखि पूर्व अध्यक्ष समेतलाई एक बनाउन गौतमले छुट्टाछुट्टै भेटेका थिए । उनले नेताहरुलाई एउटै ठाउँमा राखेर भेटघाटको वातावरण समेत मिलाएको बुझिएको छ ।

एक हप्तायता एक्ला एक्लै र सामूहिक भेटघाटहरु वामदेवको पहलमा भए । नेताहरुले सरकारको कामकारबाहीले पार्टीलाई दुरगामी असर पार्ने भन्दै छिट्टै निष्कर्षमा पुग्नुपर्नेमा सहमति बनाएको बुझिएको छ ।


भविष्यमा सरकारको नेतृत्व देखि पार्टीको नेतृत्व कस्ले लिने सम्मका विषयहरुमा छलफलहरु भएका छन् । स्रोतका अनुसार भविष्यमा प्रचण्ड, नेपाल र खनालमध्ये एकले पार्टी र सरकार संचालन गर्ने सम्मका विषयहरुमा छलफल केन्द्रित भएको छ । ओलीको पछिल्लो भूमिकाप्रति असन्तुष्ट बनेका नेपाल, खनाल र गौतमले प्रचण्डलाई मनाएर नयाँ सहमति बनाउन खोजेका हुन् ।


सरकार संचालनमा ओली र प्रचण्डबीच विगतमा भएको आधा आधा कार्यकालको सहमतिको विषयबारे चर्चा परिचर्चा भइरहँदा वामदेव नयाँ रणनीतिमा लागेका हुन् । उनले नेताहरु प्रचण्ड, नेपाल र खनाललाई पार्टी र सरकारको जिम्मेवारीलगायतमा सहमति बनाउन भूमिका खेल्दै आए ।

कुनैबेला ओलीलाई पार्टी अध्यक्ष बनाउन गौतमले निर्णायक भूमिका खेलेका थिए । उनकै समर्थनमा ओली तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष बने । तर, गएको चुनावपछि ओलीसँग उनको दुरी बढ्यो । बर्दियामा चुनाव हारेपछि गौतमले ओलीप्रति असन्तुष्ट भए । ओली निकटस्थहरु वामदेवलाई चुनाव हराउन लागेको विषय चर्चामा आयो ।

आफैले अध्यक्ष जिताउन भूमिका खेल्दा समेत धोका पाएको भन्दै गौतम रुष्ट भएका हुन् । उनले ओलीसँग दूरी बढाएर प्रचण्डसँग निकटता राखे । गौतम अहिले प्रचण्डलाई माधव नेपाल र झलनाथ खनालको समर्थन दिलाउन लागिपरेका छन् । नेकपाभित्रको शक्ति संघर्षमा हुकुमको एक्का बन्दै गएका गौतम विगतमा आफै सफल नभएपनि अरुलाई सफल बनाउन सकेका नेता हुन् । यसपटक उनी सफल हुन्छन् हुँदैनन् हेर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot