Logo

तरकारीको मूल्यवृद्धि : बाढीका कारण कि विचौलियाको खेल ?



असार ३१, काठमाण्डौ । काठमाडौंमा पछिल्लो साता तरकारीको मूल्य अत्यधिक बढेको छ । असारको पहिलो सातादेखि बढ्न थालेको तरकारीको मुल्य असार अन्तिमसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ । मूल्य किन बढ्यो भन्ने स्पष्ट छैन । तर बाढीको प्रभाव र सिमानामा विषादी परीक्षणले गर्दा मूल्य प्रभावित भएको दावी गरिएको छ ।

नेपालमा तरकारीको मूल्य कतिबेला के कारणले बढ्छ उपभोक्तालाई पत्तै हुँदैन । बेलाबेलामा हुने अत्याधिक मूल्यवृद्धि नियन्त्रण गर्ने सरकारी संयन्त्र पनि असफल छ । बेला बेलामा हुने अनुगमन त केवल देखाउने दाँत मात्रै हो । मन्त्रीस्तरीय अनुगमन नै कमिसनका लागि हुने गरेको आरोप पनि लाग्ने गरेको छ । नलागोस पनि कसरी, अनुगमनपछि उपभोक्ताले केही राहत नै पाउँदैनन् ।

असार १ देखि ३० गतेसम्मको मूल्यसूचीको तुलना गर्दा तरकारीको मूल्य ५० प्रतिशतसम्म बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य बढ्नुको कारण बर्षात भएको बताएको छ । समितिका उप कार्यकारी निर्देशक विनय श्रेष्ठले बर्षातका कारण तरकारी पर्याप्त मात्रामा नआउँदा मूल्य अस्वाभाविकरुपमा बढ्दै गएको दावी गरे ।

कतिपय व्यवसायीचाहिँ सीमानामा भारतीय तरकारी र फलफूलको विषादी परीक्षण हुन थालेपछि तरकारी कम आयात हुन थालेको र मुल्य बढेको बताएका छन् । बहाना जे भए पनि मर्का उपभोक्तालाई परेको छ ।

कालो बजारी गर्नेहरु अनेक बहानामा सलबलाउने गरेको उपभोक्ताको गुनासो छ । बर्षातका कारण भने पनि विषादी परीक्षणका कारण भने पनि यो सब बहाना मात्रै भएको उपभोक्ताको दावी छ ।

यता समितिले भने सरकारले अनुगमन गरेपछि मूल्य पूर्ववत अवस्थामा फर्किने आश्वासन दिएको छ ।

कृषिमन्त्री चक्रपाणि खनालले कालिमाटी तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गरेका थिए । यस्तो अनुगमन तरकारीको मूल्य बढेको गुनासोपछि पनि हुने गरेको छ ।

तर त्यसको प्रभावकारिता भने देखिदैन । अबका दिनमा देखाउनका लागि मात्रै होइन, उपभोक्ताले राहत महसुत गर्ने गरी अनुगमन र दोषीलाई कारबाही गर्ने प्रवृत्तिको विकास गर्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्