Logo

नेकपामा भागवण्डाका संख्यामा सहमति



काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टीको संगठनात्मक भागवण्डामा सहमति बनेको छ । अध्यक्षद्वय ले दुई दिनयता सहमतिका लागि छलफल गरिरहे । ३१ असारमा बालुवाटारमा चार घन्टा छलफलपछि निष्कर्षमा पुगे ।

केन्द्रीय निकाय, विभाग तथा जनवर्गीय संगठनको कार्यविभाजन समेत टुंगो लगाइएको महासचिव विष्णु पौडेलले जानकारी गराए । तर, कस्ले कुन जिम्मेवारी पाउनेबारे सचिवालय बैठकमा प्रस्तुत हुने बताए । नेकपा स्रोतका अनुसार नामबारे अन्तिम टुंगो लगाइएको छैन । त्यसका लागि दुवै अध्यक्षले निकटस्थसँग छलफल गरेर टुंगो लगाउनेछन् ।

एकता हुँदा ६० र ४० प्रतिशतको भागवण्डाले अहिले पनि निरन्तरता पाएको हो । सहमति अनुसार नेकपाको केन्द्रीय निकाय, विभाग तथा जनवर्गीय संगठनमा तत्कालिन नेकपा एमाले र माओवादीले भागवण्डाको टुंगो लगाएका हुन् । सबैभन्दा महत्वपूर्ण मानिएको कुल ३२ विभागहरुमध्ये तत्कालिन एमालेले १८ र माओवादीले १४ वटा पाएका छन् ।

विभागहरुको संख्याको टुंगो लागेपछि कसलाई कुन जिम्मेवारी दिने भन्नेबारे खुलाइएको छैन । यसबारे अन्तिम निष्कर्षमा पुग्न अध्यक्षद्वयले आफ्नो पक्षको बैठक राखेर टुंगो लगाउने नेकपाका एक नेताले रिपोर्टर्स नेपाल डट कमलाई बताए । संख्याको टुंगो लागेपछि समूहगत छलफल गरी नाम लानका लागि पाँच दिनको समय राखिएको छ । ५ असारमा स्थायी समिति बैठक बसी एकता प्रक्रिया र भागवण्डाको टुंगो लाग्नेछ ।


नेकपाभित्र महत्वपूर्ण विभागमा धेरै नेताहरुको दाबी छ । सबैभन्दा महत्वपूर्ण मानिएको संगठन विभागमा प्रभावशाली नेता वामदेव गौतम र वर्तमान गृहमन्त्री रामबहादुर बादलको दाबी छ । स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको दाबी छ । प्रचार विभागमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराईलगायतको दाबी रहेको छ ।

विभागका अलावा केन्द्रीय सल्लाहकार समितिलगायत विभिन्न आयोग, जिल्ला इञ्चार्ज तथा सह इञ्चार्ज, सम्पर्क मञ्चलगायतको नेतृत्वबारे समेत टुंगो लगाइने छ ।

महासचिव विष्णु पौडेलले एकता गृहकार्य सम्पन्न भएको बताए । शिर्ष नेताबीचको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले सचिवालय बैठक बसी आज बसेको गृहकार्यको निष्कर्षबारे प्रस्तुती भई अन्तिम निर्णय गरेर कार्यान्वयनमा जाने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot