Logo

निगम डुबाउने खरेलप्रति अझै ओलीको मोह !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि मात्रै नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई हटाउने संकेत गरेका थिए । खरेलले निगमलाई दिनदिनै आरोलो लगाउने र आर्थिक रुपमा धराशयी बनाउने मात्रै काम गरेको भन्ने आशयको अभिव्यक्ति ओलीले सार्वजनिक रुपमै गरेका थिए । हुन पनि हो, खरेलले नेतृत्व सम्हालेदेखि यता निगमको ग्राफ दिनप्रतिदिन बिग्रँदो छ । निगम एकपछि अर्को गरि आर्थिक संकटमा फसेको छ । यसमा मुख्य दोष खरेलको नै रहेको निगमका कर्मचारीहरुको दाबी छ ।

निगमलाई तत्काल संकटबाट उकास्ने हो भने २० अर्ब रुपैयाँ चाहिन्छ । तर, प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै एक रुपैयाँपनि नदिने भनेर घोषणा गरिसकेका छन् । आफू मातहातको संस्था डुबिसकेको थाहा पाउँदा पाउँदैपनि बचाउनको लागि प्रधानमन्त्रीले कुनै चासो नदेखाउनुमा खरेलको कार्यशैलीप्रति तिव्र असन्तुष्टि हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

सार्वजनिक रुपमै ओलीले खरेलबारे गरेको टिप्पणीका कारण अब निगममा नयाँ नेतृत्व आउने र बहालवालाको जागिर जाने अनुमान लगाउनेसम्मका अड्कलबाजी भएका थिए । यो बीचमा खरेलले प्रधानमन्त्री निवासमा धर्ना नै दिएर प्रधानमन्त्रीसँग भेट गरेका थिए । सुरुमा प्रधानमन्त्रीले भेटको लागि कुनै ढोका नै नखोलेपनि उनकै राजनीतिक सल्लाहकार विष्णु रिमाल र विदेश मामिला सल्लाहकार राजन भट्टराईको आग्रहमा खरेललाई भेट दिएका थिए । स्रोतकाअनुसार त्यो भेटमा पनि ओलीले खरेलको कार्यशैली अशोभनीय र आर्थिक रुपमा विवादस्पद बनेको पूर्ववतः आरोप कायम राखेका थिए ।

उनले खरेललाई मुखमै तपाई अब पदीय जिम्मेवारीबाट विदा लिन तयार हुनुहोस भन्नेसम्मको चेतावनी दिएका थिए । तर, यो एक साताको अवधिमा प्रधानमन्त्री ओली एकाएक खरेलप्रति मौन छन् । अहिले उनले खरेललाई हटाउने वा कारवाही गर्ने कुनै प्रसँग नै कोट्याएका छैनन् । सल्लाहकारद्धय रिमाल र भट्टराईले खरेलको जागिर जोगाउने जिम्मा लिएका छन् । प्रधानमन्त्री ओलीले अहिले बाटोमा मकै बेच्ने आमाहरुले त राज्यलाई कर तिरेको सुनाउँदै निगमले आजसम्म राज्यलाई लाभ हुने के काम गरेको छ त ? भन्दै प्रश्नसमेत खरेलसामू तेर्साएका थिए । ओलीसँगको भेटमा खरेल नाजावाफ थिए ।

नेपालका मूलधार मिडियाहरुले पनि खरेलका कारण निगम डुबेको समाचारहरु प्रकाशन गरेका छन् । यी सबै कुराको बारेमा प्रधानमन्त्री ओलीले सूक्ष्म रुपमा जानकारी लिईरहेका छन् । जनस्तरबाटै निगमको खस्कँदो अवस्थालाई लिएर खरेलमाथि नकारात्मक टिकाटिप्पणी भैरहँदा प्रधानमन्त्री ओली भने मौन बसिदिनुले प्रश्नचिन्ह खडा गरेको छ । ओलीले अब निगम चलाउन नसक्ने हो भने लिजमा दिनेसम्मको चेतावनी खरेललाई दिएर पठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्