काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरूलाई हराउने भनेको कम्युनिष्टभित्रको अहंकार भएको टिप्पणी गरेका छन । उनले भने,”प्रतिक्रियावादीले हामीलाई हराउन सक्दैन । हामीभित्रै भएको अहंकारले मात्रै हामीलाई हराउन सक्छ ।”
उनले सोभियत संघ र युरोपका कम्युनिष्ट पार्टी पतन भएको आन्तरिक कारण नै प्रमुख रहेको पनि सुनाए । अध्यक्ष दाहालले पार्टी एकता प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरेको बताए । मंगलबार ललितपुर जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन।
उनले पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने जानकारी पनि दिए ।
उनले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्षले जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहाना अनुसार काम गर्नुपर्ने चुनौति रहेको पनि दोहोर्याए ।