Logo

विश्वकप छनोटमा नेपाल समूह “बी”मा, कुन देश कुन समूहमा



नेपाल कतार विश्वकप फुटबल २०२२ को छनोटको प्रारम्भिक चरणमा समूह बीमा परेको छ । नेपालसँगै अष्ट्रेलिया, जोर्डन, ताइवान, कुवेत समूह बीमा छन् ।

१ साउनमा मलेशियाको राजधानी क्वालालाम्पुरमा भएको गोलाप्रथाबाट एशिया प्यासिफिक क्षेत्रको छनोटका लागि समूह विभाजन गर्दा नेपाल समूह बी मा परेको हो । नेपालसँग समूह बी मा परेका अष्ट्रेलिया र कुवेत विश्वकप खेलिसकेका देश हुन् ।

ड्र निकाल्दा फिफा निर्देशक क्रिष्टियन अंगर र अष्ट्रेलियाली फुटबलका महान खेलाडी टिम काहिल मुख्य आकर्षण थिए ।

समूहमा परेकामध्ये नेपालको समूहमा परेको जोर्डन गत विश्वकप छनोटको प्ले अफमा पराजित भई पहिलोपटक विश्वकप खेल्ने अवसरबाट वञ्चित भयो । नेपाल र ताइवानले विश्वकप खेलेका छैनन् ।

समूह विभाजनमा समूह बीको अन्तमा नेपालको नाम छ । फिफा वरियतामा आफ्नो समूहमा नेपाल पुछारमा छ ।

यसपटक दक्षिण कोरिया र उत्तर कोरिया एउटै समूहमा परेका छन् । इरान र इराक पनि एउटै समूहमा छन् ।

दोस्रो चरणको छनोटपछि १२ देशले अन्तिम चरणको प्रतिष्पर्धामा भाग लिनेछन् ।

यसरी हुनेछ छनोट

फिफा वरियतामा एशियाभित्र ३४ औं स्थानसम्म पर्ने देशहरु सिधै वाइ पाएर दोस्रो चरणमा प्रवेश गरेका हुन् । नेपाल एशियाली देशहरु मध्यबाट फिफा वरियतामा ३४ औं स्थानमा पर्दछ । त्यसैले वाइ पाउन सफल भयो ।

विश्वकप छनोटको दोस्रो चरणको छनोटमा ४० देश सहभागी छन् । प्रत्येक समूहमा पाँच देश रहेकोमा समूह विजेताले अन्तिम छनोट प्रतिष्पर्धामा सहभागी हुन पाउनेछ । कतार आयोजक भई छनोट भइसकेकाले सात समूह विजेता र पाँच उपविजेता अन्तिम चरणको प्रतिष्पर्धामा होमिनेछन् ।

अन्तिम चरणमा एशियाबाट चार देशले सिधै छनोट हुन पाउनेछन् । बाँकी एक टोलीले दक्षिण अमेरिकाबाट प्ले अफका लागि छानिने टोलीसँग प्ले अफ मयाच खेल्नुपर्नेछ ।

कतार समूह चरणमा हुनुमा यो ड्र सन् २०२३ मा हुने एशिया कपको छनोट पनि भएकाले हो । एशिया कपमा सबै समूहका विजेता र उपविजेता गरी १६ देश सिधै छनोट हुनेछन् ।

समूह ए
चीन, सिरिया, फिलिपिन्स, मालदिभ्स र गुआम

समूह बी
अष्ट्रेलिया, जोर्डन, ताइवान, कुवेत र नेपाल

समूह सी
इरान, इराक, बहराइन, हङकङ र कम्बोडिया

समूह डी
साउदी अरेबिया, उज्वेकस्तान, पेलिष्टाइन, यमन र सिंगापुर

समूह ई
बँगलादेश, ओमान, भारत, अफगानिस्तान र कतार

समूह एफ
जापान, किर्गिस्तान, ताजिकिस्तान, म्यानमार र मँगोलिया

समूह जी
युएई, भियतनाम, थाइल्यान्ड, मलेशिया र इन्डोनेशिया

दक्षिण कोरिया, लेबनन, उत्तर कोरिया, तुर्केमिनिस्तान र श्रीलंका

Photo: AFC



प्रतिक्रिया दिनुहोस्