Logo

एनआरएनए एशिया संयोजकमा पोखरेलको उम्मेदवारी



जापान, २ साउन । विश्वभरमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा काठमाडौंमा हुने अधिवेशनको मिति नजिकिदै जाँदा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि शुरु भएको छ । उमेदवारी घोषणासंगै उमेदवारहरु प्रचार–प्रसारमा जुटेका छन् । यसै क्रममा एनआरएनए एशिया प्यासिफिकका वर्तमान उप–संयोजक पारसमणि पोखरेलले एशिया प्यासिफिकको संयोजकमा आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

टोकियोको प्रतिष्ठित विश्वबिद्यालय इन्टरनेश्नल क्रिस्चियन युनिभर्सिटीबाट आफ्नो अध्ययन पुरा र्गार जापानमा व्यवसायमा प्रवेश गरेका पोखरेल अहिले जापानको नागोयामा सामिका ग्रुपका अध्यक्ष छन् । व्यवसायसँगै पोखरेलले सामाजिक कार्यलाई पनि निरन्तरता दिईरहेका छन ।
एनआरएनए जापानको पहिलो क्षेत्रिय समिति नागोयामा संस्थापक संयोजक हुँदै सामाजिक क्षेत्रमा लागेको उनको स्मरण छ ।

एनआरएनएमार्फत ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ आफु अहिलेसम्म यसै अभियानमा लागेको पोखरेलले जनाए । २४ बर्षदेखि निरन्तर रोटरी क्लबमा सक्रिय पोखरेल आफ्नो अनुभव एनआरएनमा प्रयोग गर्दै अगाडि बढन सहज भएको अनुभव सुनाउँछन् ।

उनी एनआरएनए जापानको केन्द्रिय सदस्य, सल्लाहकार, अध्यक्ष अनि आइसीसी सदस्य हुदै हाल एसिया प्यासिफिकका उप–संयोजकको जिम्बेवारीमा छन् । जापानको नागोयामा पहिलोपटक ‘नेपाल फेस्टिवल’ पनि पोखरेलको संयोजकत्वमा सफल रुपमा सम्पन्न भएको थियो । त्यसमा जापानमा पोखरेलले सबैको तारिफ पाएका थिए ।

एनआरएनए जापानको अध्यक्ष हँुदा पहिलोपटक अनलाइन सदस्यता, एनआरएनए जापान बाट नेपाल फेस्टिवल गरिनु, नेपालमा गएको महाभूकम्पमा जापानबाट उल्लेखनीय राहत संकलन, एनआरएन कार्यालयजस्ता महत्वपुर्ण कार्यको थालनी जापानवासी नेपालीले सम्झनयोग्य कामहरु हुन् ।

गत बर्ष डिसेम्बरमा हङकङमा र यही जुलाईमा म्यान्मारमा भएको एशिया प्यासिफिक मिटिंगमा आफ्नो राम्रो छाप छोडेका पोखरेलले २०१८ मा जापानको नागोयामा एसिया प्यासिफिकको आयोजनामा जापानी समुदायलाई लक्षित गर्दै इन्भेस्टमेन्ट सेमिनार भएको थियो । आफुले पाएको जिम्वेवारी जहिल्यैपनि ईमानदारीताका साथ पुरा गर्ने गरेको पोखरेल सुनाउँछन् । संगठनप्रतिको लगाव र कामका कारण एनआरएनएको आउने अधिवेशनमा एशिया प्यासिफिकको संयोजक बन्ने आधार तय भैसकेको पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot