काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘मारुनी’ को दोस्रो गीत ‘सक्दिन म बाँच्न’ नामक गीत आज सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका मेलिना राईको स्वर रहेको छ भने चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।
आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको पहिलो गीत ‘जाम न माया जाम’ बोलको गीत सर्वाधिक रुचाईएको गीत हो । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का, रेविका गुरुङलगायतको मुख्य भूमिका रहेको छ ।
नवल नेपालको निर्देशन रहेको फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ ।
गीतमा विक्रम लामा र एन्जिला खत्रीको कोरियाग्राफी रहेको छ । उक्त चलचित्रमा बरिष्ठ छायांकार सञ्जय लामाको छायांकन रहेको छ भने सम्पादन मित्रदेव गुरुङको रहेको छ । चलचित्रको मुख्य भूमिकामा रहेकी अर्की नायिका रेविका गुरुङको गीत भने दर्शकले अझै केही समय कुर्नुपर्ने भएको छ ।