Logo

विप्लवले समातेको बाटो नै गलत छ : ज्ञवाली



काठमाडौं, ३ साउन । कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेपालले अब द्वन्द्व धान्न नसक्ने बताउँदै सरकार र विप्लवीच यथाशक्य चाँडो वार्ता हुनुपर्नेमा जोड दिए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

ज्ञवालीले नेपालको संविधान धेरै राम्रो भएको सुनाउँदै आवश्यक परे परिमाजर्न गर्न सकिने पनि धारणा राखे । उनले अहिले तीन वटै केन्द्रमा नेकपाको सरकार रहेकोले अब मिलेर देश बनाउनुपर्नेमा जोड दिए । सरकार सञ्चालनमा कमिकमजोरी रहेको स्विकार्दै यसलाई सच्याउनुपर्ने उनको जोड छ ।

ज्ञवालीले सरकारले ल्याएको बजेट धेरै राम्रो रहेको सुनाउँदै यसलाई कार्यान्वयनमा लाग्नुपर्ने सुनाए । सरकारले यो एक वर्षको अवधिमा धेरै राम्रो काम गरेको उनको दाबी छ । उनले भने,‘नियम, कानून बनाएको छ। लोककल्याणकारी काम गरेको छ ।’

उनले अहिले मुलुकमा हतियार उठाउनुपर्ने कुनै आवश्यक नरहेको जिकिर गरे । उनले थपे,‘जनता हिंसा चाहँदैनन् । हामी अब समाजवादी बाटोमा अघि बढिरहेका छौं । त्यसैले लोकतान्त्रिक बाटो र शान्तिको विकल्प छैन् ।’

ज्ञवालीले विप्लव नेकपाले समातेको बाटो नै गलत रहेको दाबी गरे । उनले भने,‘उहाँहरुले लिएका एजेण्डा बेठिक छन् । उहाँहरुका खास केही एजेण्डा नै छैनन् । त्यसैले तपाईहरु शान्तिपूर्ण रुपमा राजनीतिमा आउनुहोस् ।’ सरकारले विप्लवसँग अनौपचारिक छलफल गरिरहेकोले अब औपचारिक छलफल नै गर्नुपर्ने पनि उनले सुझाए ।

उनले भने,‘विप्लव समूहले अब हिंसाको बाटो छोड्नुपर्छ । नेपालमा बाहृय शक्तिले नेपालमा द्धन्द्धलाई उपयोग गरेर खेल्न लागिपरेका छन् । कतिपय हतियारका व्यापारीहरु नेपालमा एक आपसमा लडाउन खोजिरहेका छन् । हामी सबै सचेत हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot