Logo

ओली सरकार मुलुकमा द्धन्द्ध चर्काउन चाहन्छ : कार्की



सरकार र विप्लवबीच निःशर्त वार्ता हुनुपर्छ : भण्डारी

काठमाडौं, ३ साउन । बरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बोर्ण बहादुर कार्कीले देश अहिले धेरै जटिल अवस्थामा रहेको सुनाए । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दैउनले भने,‘कतिवेला विष्फोटक हुन्छ थाहा छैन् । कुनैपनि बेला आन्तरिक गृहयुद्धमा फस्ने प्रूवल सम्भावना छ ।’

उनले सरकारले विप्लवसँग वार्ताको नाटक गरिरहेको पनि आरोप लगाए । उनले भने,‘सरकारले वार्ताको नाटक गरिरहेको छ । तर, सरकारले वार्ताको नाटक गरेर दमनको तयारी गरिरहेको छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले धाक दिएर हिजो भने अब विप्लवले आत्मसमर्पण गरेमात्रै वार्ता हुन्छ भनेर । यो त वार्ता नगर्ने नाटक हो ।’

कार्कीले अहिलेपनि विप्लवका ७०० सय नेता तथा कार्यकर्ता जेलमा रहेको सुनाए । उनले भने,‘विप्लवले हतियार उठाए मुलुकमा सशस्त्र द्धन्द्ध सुरु हुन्छ ।देशले गृहयुद्ध थाम्न सक्दैन् । तर, ओली सरकार मुलुकमा द्धन्द्ध चर्काउन चाहन्छ । दिनप्रतिदिन गैरजिम्मेवार बन्दै गएको छ ।’ वर्तमान सरकार पश्चिमाहरुको दलदलमा फसेको उनको आरोप छ ।

उनले भने,‘यो कुरा घट्नाक्रमले पुष्टि गरेको छ। अहिले नेपाल ईण्डो–प्यासिफिक स्टा«टेजीमा आवद्ध भएको छ ।’ नेपाललाई अर्को असफल अफ्गानिस्तान र सिरिया बनाउने षड्यन्त्र भैरहेको उनको आरोप छ ।

कार्यक्रममा वामपन्थी नेता साध्यबहादुर भण्डारीले सरकार र विप्लवबीच निःशर्त वार्ता हुनुपर्ने माग राखेका थिए । उनले मुलुकलाई युद्धतर्फ धकेल्न नहुने धारणा राखेका थिए । उनले भने,‘सरकार र विप्लव समूह दुवैले वार्तालाई स्विकार्नुपर्छ ।’

त्यस्तै कार्यक्रममा माथिल्लो कर्णाली बचाउन अभियानका अभियन्ता भरतबहादुर शाहीले पनि सरकार र विप्लवबीच चाँडै वार्ता होस भन्ने धारणा राखेका थिए । उनले विप्लवमाथि लगाईएको प्रतिबन्ध गलत भएको टिप्पणी गरे ।

उनले वर्तमान सरकारलाई फाँसीवादी चरित्र भएको सरकारको संज्ञा दिए । उनले भने,‘यो सरकार हरेक मोर्चामा असफल भएको छ । यो सरकार रिमोट कन्ट्रोलबाट चलेको छ ।’ कार्यक्रममा पुष्पालाल अध्ययन समाजका लोककृष्ण भट्टराईले पनि सरकार र विप्लवबीच यथाशक्य वार्ता हुनुपर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्