काठमाडौं, ३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो राजीनामा माग्नेहरुलाई कडा जवाफ फर्काएका छन् । उनले लोकतन्त्रमा जे पनि माग राख्न सक्ने भएकाले आफू त्यसको पछाडि नदौडने स्पष्ट पारेका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
त्यतिमात्रै होईन, मन्त्री पण्डितले आफ्नो विरोध गर्नेहरुलाई सिध्याईदिनेसम्मको चेतावनी दिएका छन् । उनले आफूलेजति काम कसैलेपनि नगरेको दाबी गरेका छन् । उनले आफूहरुले सबैलाई आरक्षण दिएर नै लोकसेवा आयोगको विज्ञापन ल्याएको दाबी गरे । संविधान र ऐनको भावनाअनुसार नै विज्ञापनमा व्यवस्था गरिएको पण्डितको जिकिर छ । भ्रष्टाचार गरेको प्रमाणि भएका सबै कर्मचारीहरुलाई जेल हाल्नेपनि उनले चेतावनी दिए ।