Logo

विप्लवसँग सरकारले वार्ता गर्न चाहेन



प्रतिबन्धित नेकपा र सरकारबीच वार्ताको चर्चा छ । तर औपचारिक वार्ता हुन सकेको छैन । दुवै पक्षले वार्ताका लागि केही शर्त अघि सारेका छन् । यस्तो अवस्थामा वार्ता कति सम्भव छ त ? हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहलाई कसरी मूलधारको राजनीतिमा ल्याउने त ? यिनै विषयमा केन्द्रित भएर ऋषि धमलाले नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सिपी गजुरेल, नेता, नेकपा माओवादी क्रान्तिकारी

प्रतिबन्धित नेकपा र सरकारबीचको दुरी बढ्दै गएको छ । समाधानको उपाय के हुन सक्छ ?
देशमा शान्ति होस्, द्वन्द्व नहोस् भन्ने हाम्रो चाहना हो । यसका लागि उपयुक्त थलो भनेको वार्ता नै हो । तर वार्ता नहुने संकेत देखिएको छ । वार्ताप्रति सरकार नै गम्भीर भएको छैन । हामीले मात्रै वार्ता गर भनेर भएन । सरकारले नै वार्ता हुँदैन भनेको छ ।

सरकारले हत्या हिंसा छोडेर आएपछि वार्ता हुन्छ भनेको छ नि ?
सरकार र विप्लव समुह दुवै पक्षले शर्त राखेका छन् । दुवै पक्षको शर्त एक अर्कालाई मन्जुरी नभएपछि वार्ता नहुने सम्भावना देखिएको छ । सरकारले त वार्ता नगर्ने भनेर मन्त्रीपरिषद्बाट निर्णय नै गरेको भन्ने पनि सुनिएको छ । सरकारले नै वर्ता हुँदैन भनेपछि अब कसरी वार्ता हुन्छ ?

वार्ताका लागि त विप्लव समुहले वातावरण बनाएन नि । सरकारले मात्रै पहल गरेर कसरी वार्ता हुन्छ त ?
विद्रोही पक्षले त के वातावारण बनाउने हो र ? वार्ताको वातावरण बनाउने त सरकारले हो नि । मुख्य जिम्मेवारी त सरकारकै हो नि । विप्लवले शक्ति संचय गर्नका निम्ती वार्ता गर्न खोजेको बुझियो भनेर सरकारले धारणा सार्वजनिक गरिसक्यो ।

सत्तारुढ दल नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठलगायतले त वार्ताको प्रयास भइरहेको छ भनेका छन् नि ?
नेकपामा नारायणकाजीले भनेर के हुन्छ र ? उनले आफूले के गरे त्यो फरक कुरा हो, तर उनको केही चल्दैन । उनी सरकार र पार्टी दुवैमा महत्वपूर्ण ठाउँमा छैनन् । उनले भनेका कुराको खासै महत्व छैन ।

नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल वार्ताको पक्षमा देख्नुहुन्छ ?
प्रभाव पार्न सक्ने भनेका ओली र दाहाल हुन् । उनीहरु नै वार्ता नगर्ने पक्षमा गइसकेका छन् । त्यसैले तत्कालका लागि वार्ता टरेको छ ।

तपाईको दलको भूमिका पनि केही भएन है ? लथालिङ्ग अवस्थामा छ नि ?
हाम्रो पार्टीलाई पटक पटक फुटाउने काम गरियो । तर हामी लथालिङ्ग भताभुङ्ग भएका छैनौँ । हामी आफ्नो योजनाअनुसार अगाडि बढेकै छौँ । संगठन निर्माण गरिरहेका छौँ । संघर्षका कार्यक्रम पनि गरिरहेका छौँ ।

केपी ओली नेतृत्वको सरकारले गरेको कामबाट सन्तुष्ट हुनुहुन्छ ?
ओली सरकारले धेरै कुरा भनेको छ तर केही पनि गरेको छैन । यो सरकारका पालामा जति भ्रष्टाचार त इतिहासमा कहिल्यै पनि भएको थिएन । तस्करी मौलाएको छ । ३३ किलो सुन कहाँ गयो ? वालुवाटार नै माफियाहरुले आफ्नो नाममा गरिसके । पशुपतिनाथको साँढे १७ सय रोपनी जग्गा आफ्नो नाममा गरिसके । सिंहदरबार पनि आफ्नै नाममा गर्दैछन् भन्ने चर्चा छ । योभन्दा बढि के हुनुपर्छ ? यसैलाई हामीले विकास मान्ने हो ।

तपाईहरु पनि कम्युनिष्ट, कम्युनिष्टकै सरकार छ । किन सहयोग गर्नुहुन्न ?
नाम मात्रै कम्युनिष्ट भनेर हुन्छ । धनपती भन्दैमा त्यो धनी हुन्छ र ? काम देखाउनुपर्यो नि । यो सरकारले कम्युनिष्टले गर्ने काम एउटै गरेको छैन । दलाल पुँजिपतिले गर्ने काम गरिरहेको छ । यस्तो सरकारलाई के सहयोग गर्ने ? अब त यो सरकारविरुद्ध जनआन्दोलन गर्नुपर्छ ।

तपाईहरुसँग जनता नै छैनन्, कसरी जनआन्दोलन गर्नुहुन्छ ?
जनता त कसैको पनि हुँदैनन् । कोही व्यक्ति वा पार्टीले जे भन्यो त्यही मान्ने त जनता होइनन् नि । वास्तविकता थाहा भएपछि जनताले सहँदैनन् । गुठी विधेयकको विरोधमा जनआन्दोलन जस्तै भएन र ? अनि अझै पनि जनता उठ्दैनन् भन्ने भ्रममा बसेर हुन्छ ? जनता सडकमा उत्रिए भने दुई तिहाई त केही पनि होइन । के गर्यो र दुई तिहाइले ?



प्रतिक्रिया दिनुहोस्

Screenshot