बुटवल, ४ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताएका छन् । उनले सरकारको काम–कारबाही प्रभावकारी नभएको भन्दै मन्त्री परिवर्तन गर्नसमेत माग गरेका छन् ।
‘सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी विगतमा तत्कालीन एमाले र माआवादी केन्दका नेताबीच पाँचबुँदे सहमति भएकै हो’, रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर ५ ले आज आयोजना गरेको साक्षात्कारमा पौडेलले बोल्दै उनले यस्तो बताएका हुन् । उनले अगाडि थपे, ‘सार्वजनिक नै भइसकेको विषय लुकाउनुपर्ने कुनै कारण छैन । विगतको यही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’
नेकपा नेताबीच विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि यसलाई लिएर नेताहरू विभाजित छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली निकट नेता यही सरकारले ५ वर्षसम्मै नेतृत्व गर्नुपर्ने पक्षमा छन् भने तत्कालीन माओवादीभित्रका तथा बाहिरका केही नेता भने विगतको भद्र सहमति पालना गरेर अघि बढ्नुपर्ने पक्षमा छन् ।