काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले झण्डै डेढ वर्षपछि पार्टीको जिल्ला इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ ।
आईतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको सचिवालय सदस्य वामदेव गौतमले जानकारी दिए । उनकाअनुसार ४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ ।
तर, आजको बैठकले पनि विभागीय जिम्मेवारी टुंग्याउन सकेन । बैठकमा स्कुल विभागमा दुवै पक्षको दाबी रहँदा विभागीय जिम्मेवारी बाँडफाँड नटुंगिएको हो । पूर्वमाओवादी पक्ष स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिन तयार नभएको बुझिएको छ । बैठकले संगठन विभागको जिम्मेवारी आफूलाई दिने निर्णय गरेको जानकारी नेता गौतमले नै दिएका छन् ।
यसअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच विभागीय जिम्मेवारीबारे सहमति भएकोमा उक्त सहमतिलाई अनुमोदन गर्न सचिवालय बैठक बसेको हो । विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधव नेपाललाई दिने सहमति पनि यसअघि नै भईसकेको छ । सचिवालयको अर्को बैठक आगामी मंगलबार बस्नेछ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम