Logo

प्रधानमन्त्री ओलीद्वारा डा. सन्दुक रुइतको प्रशंसा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विद्वान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए । ‘डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनुभएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन उहाँ सफल हुनुभएको छ । त्यसकारण उहाँलाई बधाइ र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना ।’

तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनुपर्ने उनको भनाइ छ । डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने,‘तपाईंहरुका प्रयास र सेवा अनुकरणीय छन्, सरकारको तर्फबाट तपाईंहरुलाई अनुसन्धान, तालिम र उपचारमा यथेष्ट सहयोग हुनेछ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्