Logo

गृहका हाकिम चढेको जिप लक गरेपछि ट्राफिक प्रहरीलाई जागिर खाइदिने धम्की आएको थियो (भिडियोसहित)



काठमाडौं । गृह मन्त्रालयका उच्च अधिकारी चढेको दुईवटा जिप लक गर्ने दुई ट्राफिक प्रहरी जवानहरु तारोमा परेका छन् । उनीहरुमाथि स्पष्टिकरण समेत सोधिएको खुलेको छ ।

जवानहरु टीकाराम बुढा र कमलेशकुमारलाई लक गरेकै दिन यसै वर्षको १३ असारमा जागिर खाइदिने धम्की आएको थियो । यो समाचार रिपोर्टर्स नेपालले भिडियोसहित छापेको थियो ।


फोटो पत्रकार मुकुन्द कालिकोटेले सनसनीपूर्ण भिडियो र तस्वीर कैद गरेपछि उनीहरुमाथि कारबाही गर्न गृह मन्त्रालयका उच्च अधिकारी र प्रहरीहरु डराएका थिए । तर, समय बित्दै जाँदा उनीहरु तारोमा परेका छन् ।

यसबाट राज्यको जिम्मेवार निकायमा रहेकाहरुले व्यक्तिगत कारणले शक्तिको दुरुपयोग गर्दछन् भन्ने पुष्टि भएको छ ।

के भएको थियो

जागिर खाने मन छ कि छैन रु– गृहका हाकिम
सिपाहीको जागिर हो, जहाँ गएपनि आखिर जागिर नै खाने हो– ट्राफिक प्रहरी

यो संवाद १३ असार बुधबार विहान सिंहदरबारको पूर्वी गेट अगाडिको हो । गृह मन्त्रालयको बा २ झ ३४६ र बा २ झ ४३८८ नम्बरको जीपहरु पूर्वी गेट अगाडिको मुख्य सडक छेऊमा रोकिएको थियो । दुईवटा जीप सडकछेऊ निषेधित क्षेत्रमा पार्किङ गरेका कारण यातायात आवागमनमा अवरोध भइरहेको थियो ।


मोटरसाइकलमा दुईजना प्रहरी आएर पार्किङ निषेध क्षेत्रमा रोकिएको दुवै जीपमा लक गरे । सरकारी नम्बर प्लेटको गाडीमा लक गरेपछि गृहका दुई अधिकारी र चालक समेत आएर ट्राफिकलाई धम्क्याउन थाले । दौरा सुरुवालमा चट्ट सजिएका गृहका हाकिमले नियम मिचेर राखेको गाडीलाई छुटाउन प्रहरीलाई निकै दबाब दिए ।

विहान राष्ट्रियसभागृहमा गृह मन्त्रालयको आयोजनामा भएको लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सहभागी भएर अनामनगरमा गृहका ती अधिकृत खाना पुगेका थिए उनीहरु । खान निषेधित क्षेत्रमा पार्किङ गर्न उनैले लगाएका थिए ।


हाकिमको आदेश अनुसार चालकले गाडी पार्किङ गरेका थिए । प्रहरीले गाडीले नियम उल्लंघन गरेको भन्दै कारबाहीको अडान राखिरहे ।
प्रहरीले सालिन र शिष्ट भाषामा जवाफ दिइरहँदा गृहका कर्मचारी निरन्तर धम्क्याइरहेका थिए । तर, प्रहरी धम्कीबाट डराएनन् । एकजनाले आफ्ना कमाण्डरलाई घटनाबारे जानकारी गराए । उताबाट नियम उल्लंघन गर्नेलाई नछाड्न निर्देशन आयो ।

गृहका अधिकृतले लक खोल्न भन्दा प्रहरीले मानेनन् । निकैबेर दबाब दिंदा पनि नमानेपछि चालकले लाइसेन्स दिए । बल्ल प्रहरीले दुवै गाडीको लक खोलिदिए । गृहका अधिकृतसहित दुई कर्मचारी गाडीमा चढे । उनीहरु कार्यालयतर्फ लागे ।

सानालाई ऐन ठूलालाई चैनको गुनासाहरु बढिरहँदा नेपाल प्रहरीले मङ्गलबार सबैलाई ऐनको व्यवहार देखायो । शक्ति र पहुँच हुँदैमा जसले जे गर्ने पनि छुट हुँदैन । राज्यको नीतिनियम र कानुन सबैले मान्नुपर्छ । मङ्गलबार दुईजना निडर प्रहरीले कर्तव्य पालनाको वास्तविक परिचय दिए । घटनाका प्रत्यक्षदर्शीले प्रहरीहरुको वाही वाही गरे ।

प्रहरी जवानद्वयको प्रशंशा गर्दै टीकाराम बुढा र कमलेशकुमारलाई सडकमै सम्मान गरिएको थियो । जागिर जहाँ गएर पनि खान्छु र खटाएको जिम्मेवारी पूरा गर्छु भन्दै धम्कीका बाबजुद पार्किङ गर्न नमिल्ने स्थानमा गाडी राख्नेको गाडी लक गरिदिएका थिए । तर, प्रहरी हेडक्वार्टरले उनीहरुलाई सम्मान गरेन । उल्टै माथिको आदेशमा स्पष्टिकरण सोध्ने गतिविधि भयो । Photo and Video: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्