Logo

भारतबाट नेपाल लागूऔषध तस्कर गर्न किशोरको प्रयोग



काठमाडौं । भारतबाट नेपालमा लागूऔषधको तस्करीका लागि किशोरहरुको प्रयोग बढ्न थालेको छ । प्रहरीले नेपाल-भारत सीमा नाकाबाट किशोरहरुलाई लागूऔषधसहित रङ्गेहात पक्राउ गरेपछि यसको खुलासा भएको हो ।

भारतबाट अवैध लागूऔषध ल्याउँदै गर्दा किशोर पक्राउ परेका छन् । ६ साउनमा मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट बाणगंगा नगरपालिका-१ जितपुर बस्ने १८ वर्षीय कृष्ण खाणलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट १ पिस र विनस्पास्मो १ सय १८ ट्यावलेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री खाणलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, बाँके, नेपालगंज उपमहानगरपालिका-१० स्थित सडकबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका-९ बस्ने १८ वर्षीय रोहित बुढा र कालिकोट शुभकामना गाउँपालिका-३ बस्ने २१ वर्षीय प्रकाश रोकायलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा जुत्तामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१० बसपार्कबाट चितवन भरतपुर महानगरपालिका-१० बस्ने १८ वर्षीय अनिस सिन्जाली मगरलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट २१ पिस र नवलपरासी मध्यबिन्दु नगरपालिका(५ बस्ने २० वर्षीय बसन्त पुनलाई नाईट्रोभेट ट्यावलेट १९ पिस सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot