काठमाडौं । अविरल वर्षाले देशका अधिकांश नदी तथा खोलानाला सतर्कता तह पुगेको छ । नेपाल बाढी सूचनाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन ८ साउनमा सूचना जारी गरेको छ ।
गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले उद्दारका लागि तयारी अवस्थामा रहेको जनाएको छ । उसले बाढी र पहिरोमा परेकाको उद्दार समेत गरेको छ ।
बाढी सूचना केन्दका अनुसार बागमती नदीको जलसतह सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहकिा तटीय क्षेत्रमा हुनेहरुलाई सतर्क रहन भनेको छ ।
चितवनको माडी क्षेत्रको कल्याणपुर बनकट्टा, ठोरी र आसपासमा भारी वर्षा भएकाले रिउखोलाको बहावले सतर्कता पार गरेको छ ।
बर्दियाको बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । बर्दियामा काठ दाउरा समात्न र निकाल्न जानेहरु नदीमा पुग्दा मानिस बगाएपछि त्यसो नगर्न भनेको छ ।
चितनव, पर्सा, बारा, मकवानपुर, नवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरीलगायत गण्डकीको चेरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल बाढी सूचनाले सूचना जारी गरेको छ ।