Logo

राजीव गान्धीकी हत्यारा नलिनी जेलमा जन्मिएकी छोरीको विवाहमा जाँदै



एजेन्सी । २८ वर्षअघि भारतका तत्कालिन प्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषी ठहरिएकी नलिनी श्रीहरन छोरीको विवाहमा सहभागी हुँदैछिन् । उनले ३० दिन जेलबाट बिदा पाएपछि डाक्टर भइसकेकी छोरीको विवाहमा सहभागी हुन लागेकी हुन् ।

नलिनीका छोरी हरित्रा श्रीहरन जेलमै जन्मिएकी हुन् । राजीव गान्धीको हत्यामा पक्राउ पर्दा नलिनी दुई महिनाकी गर्भवती थिइन् । भेलरको केन्द्रीय कारागारमा हरित्राको जन्म भएको थियो ।

२८ वर्ष लामो कारावास काटिसकेकी उनले ३० दिनको बिदा पाएकी हुन् । ३० दिन छोरीको साथमा रहने बताइएको छ । तामिलनाडुस्थित मद्रास उच्च अदालतले जेलबाट ३० दिन बाहिर बस्न पाउने फैसला सुनाएपनि राजनीतिक दलका नेतासँग भेट्न पाउने छैनन् । मिडियालाई अन्तवार्ता दिन र सामाजिक सञ्जालमा केही पनि पोष्ट गर्न नपाउने अदालतको फैसला छ ।

भारतमा सबैभन्दा लामो समय जेल जीवन काटिरहेकी नलिनीले पहिलोपटक यति लामो समय बिदा पाएकी हुन् । लन्डन बस्दै आएकी छोरीले भारतमा आएर विवाह गर्न लागेकी हुन् । चिकित्सक भइसकेकी हरित्रा श्रीहरनले बेलायतमा शरण पाएकी थिइन् ।

सन् १९९१ मा राजीव गान्धीको हत्या अभियोगमा पक्राउ परेकी नलिनीलाई भारतको सर्वोच्च अदालतले फाँसीको सजाय दिएको थियो । तर, राजीव गान्धीकी पत्नी सोनिया गान्धीको अनुरोधमा भर्खर आमा बनेकी नलिनीको सजायलाई तामिल नाडु सरकारले आजीवन कारावासमा सिमित राखेको थियो ।


पति मुरुगन पनि राजीव गान्धी हत्या अभियोगमा जेल परेपछि नलिनीले अदालतमा बयानका क्रममा छोरीको शिक्षाका लागि केही गर्न नसक्ने बताएकी थिइन् ।

सन् १९९१ को मे महिनामा तामिल आत्मघाती बम हमलाकारीले राजीव गान्धीको हत्या गरेका थिए । चुनावी र्यालीका क्रममा तामिलनाडुको सुरिपरुमबुडरमा गान्धीमाथि आत्मघाती बम हमला भएको थियो । Photo: wionews & sakshinews



प्रतिक्रिया दिनुहोस्