Logo

बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास



गौशाला, ९ साउन । बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् ।

असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी–५ ९डठौरा० सिङ्गो गाउँ नै डुबानमा पारेपछि त्यहाँका २९६ परिवार विगत १२ दिनदेखि रेल्वे लिकमै बास बस्न बाध्य भएका हुन् ।

उक्त नदी निकारमै रहेको डठौरा गाउँमा बाढी आएपछि नदीको तटबन्ध भत्किएर बाढी गाउँमै पसेपछि उनीहरू घर छोडेर रेल्वे लिकमा बास बसेको स्थानीयवासी शनिश्चरी सदाले बताए ।

बाढीले गाउँका सबै घर भत्काएकाले अझैसम्म जमिरहेको पानीले अति प्रभावित उनीहरु रेल्वे लिकमा पाल टाँगेर झरी र घामको सामना गर्न बाध्य छन् । रेल्वे लिकमा बास बस्दै आएका उनीहरुलाई खाना, खानेपानी, बस्न, सुत्न, स्वास्थ्य र शौचालयको निक्कै समस्या भएको स्थानीयवासी जीवछ सदाले बताए ।

गाउँबाट पानी नहटेका कारण अहिले पनि रेल्वे लिकमै खुल्ला आकाशमुनि नै जीवन गुजार्न बाध्य हुनुपर्दा महामारी हुनसक्ने चिन्ताले सताएको उनीहरु बताउँछन् । करिब ३०० परिवारका १०० भन्दा बढी बालबालिका बाढीकै पानीमा दिनभर नुहाउने, माछा मार्ने र हिलोमैलो खेल्ने गरेका कारण बालबालिका पनि रोग र महामारीका साथै सर्पदंशको पनि उच्च जोखिम रहेको स्थानीयवासी उमेश सदाले बताए। रासस 



प्रतिक्रिया दिनुहोस्