Logo

एक पाउन्ड बोकेर बेलायत छिरेका पाकिस्तानीका छोरा बने बेलायतका अर्थमन्त्री



एजेन्सी । पाकिस्तानी आप्रवासीका छोरा सजिद जाविद बेलायतको अर्थमन्त्री बनेका छन् । उनलाई नवनियुक्त बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अर्थमन्त्रालयको महत्वपूर्ण जिम्मेवार दिएका हुन् ।

पाकिस्तानको परम्परागत मुस्लिम बाहुल्य क्षेत्रमा जन्मिएका उनका बाबुआमाले बेलायत पुगेर निकै संघर्ष गरेका थिए । सन् १९६० को दशकमा १७ वर्षको उमेरमा बेलायतको हेथ्रु विमानस्थलमा उत्रँदा बाबु अब्दुल घानी जाविदको खल्तीमा मात्र एक पाउन्ड थियो । आमा जुवैद जाविद अब्दलुसँगै पुगेकी थिइन् । उनलाई अंग्रेजी बोल्न आउँदैनथियो ।


अब्दुलले कपास कारखानामा मजदूरी गरे । त्यसपछि बढी आम्दानी हुने देखेर बस चलाउन थाले ।

किशोरावस्थामा जावेदले बजार अर्थतन्त्रमा चासो राखे । १४ वर्षको उमेरमा बैंकबाट पाँच सय पाउन्ड लिएर सेयरमा लगानी गरे । उनी नियमित आर्थिक मामलाका पत्रिकाहरु पढ्थे ।

सानो छँदा बेलायतमा वर्णभेद भोगे । त्यसले उनमा इख पलायो । विद्यालयको गृहकार्य भन्दा टेलिभिजन हेर्न रुचाउँथे ।

विश्वविद्यालयमा अर्थशास्त्र र राजनीति अध्ययन गर्न थाले । त्यही बेलामा कन्टरभेटिभ पार्टीमा आवद्ध भए । बैंकिङ क्षेत्रमा सहभागी भए । न्युयोर्क पुगेर बैंकमा काम गरे । लन्डन फर्किएर डच बैंकमा निर्देशक भएर काम गरे । विभिन्न बैंकमा प्रबन्ध निर्देशक बनेर अनुभव सँगाले ।
सन् २००९ मा सक्रिय राजनीतिका लागि बैंकिङ क्षेत्रको करिअर छाडे । वार्षिक ३० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ ४० करोड आम्दानी गर्थे । यति ठूलो आम्दानी छाडेर उनी सक्रिय राजनीतिमा आए ।

सांसद निर्वाचित भएर गृहमन्त्री हुँदा उनी बेलायतको उच्च पदमा पुग्ने एशियाली मूलका पहिलो बेलायती नागरिक बने । गृहमन्त्रीका रुपमा उनले कडा कदमहरु चाल्दा आलोचना भोग्नुपर्यो ।

जाविदको पूर्खा मुस्लिम धर्म मान्दछन् । उनी धर्म मान्दैनन् । उनकी पत्नी क्रिष्चियन धर्म मान्छिन् । चार सन्तानका बाबु ४९ वर्षीय जाविदलाई बेलायतको भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएको छ । उनले त्यसका लागि विगतमा पनि प्रयास गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्