Logo

सरकार ! कहाँ तोडियो सुन तस्करको जालो ?



साउन ९, काठमाण्डौ । नेपालमा कुन बेला कहाँ किलोका किलो सुन फेला पर्छ ठेगान छैन । हो, नेपाल सुन तस्करको उचित गन्तव्यस्थल बन्दै आएको छ । सरकारले सुन तस्कारको जालो तोडेको दावी गरिरहँदा एकाएक गोरखामा १६ किलो अवैध सुन फेला परेको छ ।

गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेसीमा ओडार भित्र लुकाई राखेको १६ किलो सुन बरामद भएको हो । प्रहरीका अनुसार खोर्लाबेसीको ओडार नजिक ढुङ्गाले च्यापेर राखेको अवस्थामा सो परिमाण बराबरको सुन भेटिएको हो ।

२७ दिन देखि सम्पर्क बिहीन बनेका यारुवगरका धनकमल गुरुङले सो स्थानमा सुन लुकाएर राखेको आशंका गरिएको छ । गुरुङलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो । तिब्बतबाट सुन ल्याएको लुटेराले सुइको पाएप्छि धनकमल सुन लुकाएर सम्पर्कबिहीन बनेको प्रारम्भिक अनुसन्धानबाट खलेको छ ।

केही दिनदेखि धनकमल गुरुङ हराएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी परेको थियो । प्रहरीले गुरुङको खोजी सुरु गर्यो । तर, गुरुङमात्र भेटिएनन् उनीसँगै ठूलो परिमाणको सुनसमेत प्रहरीले बरामद ग¥यो । चट्टानभित्र बोरामा लुकाइराखेको १६ वटा सुनका बिस्कुट फेला पारेको हो । १६ किलो सुनको बजार मूल्य ८ करोड बराबर हुन आउँछ । ठूलो परिणामको सुन फेला परेसँगै नेपालमा सुन तस्करहरुको जालो भित्र भित्रै फैलिरहेको पुष्टी भएको छ ।

तर सरकारले भने ३३ किलो सुन काण्डको अनुसन्धान सुरु भएसँगै पटक पटक नेपालमा सुन तस्करको जालो तोडिएको दावी गर्दै आएको थियो ।

तर सानो सफलतालाई नै ठूलो उपलब्धि ठान्ने सरकारले सुन तस्कर नियन्त्रण गर्न असफल भएको छ । पछिल्लो समय तस्करहरूले गोरखालाई सुन तस्करीको नयाँ रूट बनाएका छन् । अघिल्लो वर्षको भदौमा पनि गोरखामा १० किलो सुन बरामद भएको थियो ।

तिब्बतबाट गोरखामा अबैध सुन भित्रिएको घटना बढे पनि सीमानामा रहेको भन्सार कार्यालय कर्मचारीविहीन छ । लार्के भन्सार कार्यालय त दशकदेखि बन्द छ । अझै कति सुन अवैध रुपमा नेपाल भित्रिने हुन भन्नेमा सरकार चनाखो हुन सकेको छैन ।

फाट्टफुट्ट फेला पर्ने सुनबाहेक अरु कति सुन अवैध रुपमा कारोबार भइरहेको छ अनुमान लगाउन सकिने अवस्था छैन । यसतर्फ सरकार गम्भीर भएर लाग्नुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्