साउन ९, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा स्कुल विभागको नेतृत्वको विषय थप जटिल बन्दै गएको छ । स्कुल विभागमा नेता नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलविच भागबन्डा नमिलिरहेकै अवस्थामा अर्का नेता घनश्याम भुसालले पनि नेतृत्वको दावी गरेपछि यो विषय थप पेचिलो बन्दै गएको हो । जसले नेकपाभित्रको विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ ।
नेकपाको स्कुल विभागमा ५ जना नेताहरुको नाम चर्चामा आएको छ । सुरुमा पूर्व माओवादीका नेता तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्व एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नाम बहसमा थियो ।
श्रेष्ठ र पोखरेलमध्ये कसलाई स्कुल विभागको जिम्मेवारी दिने भन्नेमा विवाद देखिएपछि एकपछि अर्को गर्दै दाबेदारहरु देखा परे । तेस्रो दाबेदारको रुपमा घनश्याम भुसाल देखा परे । भुसाल बैचारिक बहसमा अब्बल नेता भएकाले उनको नाममा कायकर्ताले भने समर्थन जनाएको पनि पाइयो ।
माक्र्सवादसम्बन्धी पुस्तकसमेत लेखेका भुसाल विगतमा मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ कि झलनाथ खनाल, सीपी मैनालीले भन्ने गरेको ‘नौलो जनवाद’ भन्ने वैचारिक विवाद हुँदा नौलो जनवादको पक्षमा थिए ।
अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिन लागिएको बताइएको थियो । तर उनले पनि स्कुल विभागमा पनि इच्छा देखाएका छन् ।
यता अर्को नेता बेदुराम भुसालको आँखा पनि स्कुल विभागमै गडिसकेको छ । विभागको संयोजक कसलाई बनाउने भन्नेमा सहमति नजुट्दा एकपछि अर्को गर्दै दाबेदारहरु देखा परेका छन् ।
पार्टीको सिद्धान्तलाई कार्यकर्तासम्म लैजान सकिने र त्यसले आगामी महाधिवेशनमा आफू शक्तिशाली बन्ने आकांक्षाका कारण पनि स्कूल विभागमा पूर्वएमाले र पूर्वमाओवादी दुबै खेमाले आँखा गाडेका हुन् ।
त्यसो त गत आइतबार अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार बसेको पुर्वमाओवादीका नेताहरुविचको पनि स्कुल विभाग छोड्न नहुने ठहर गरेका थिए । पुर्व माओवादी नेताहरुले पनि धेरै विवाद नगरी नेताहरुको योग्यता र वरिष्ठताको आधारमा नेतृत्व दिनुपर्नेमा जोड दिएका छन् ।
त्यसो त पुर्वमाओवादी खेमाले अघि सारेका नेता नारायणकजी श्रेष्ठ हाल संसदमा पनि नरहेको र पार्टीमा पनि कुनै महत्वपुर्ण जिम्मेवारीमा पनि नरहेकोले श्रेष्ठलाई नै स्कुल विभाग दिनुपर्नेमा पुर्वमाओवदी पक्षको अडान छ ।
यता पूर्व एमालेमा भने एकमत छैन । खनाल, पोखरेल र भुसालद्धय गरी चारै जना पूर्व एमाले भएकाले सकस देखिएको छ ।
यसअघि नेकपाको ३२ विभिन्न विभागमध्ये १८ पुर्वएमालेले लिने र बांकी १४ पुर्वमाओवादीले नेतृत्व लिने सहमती भएको थियो । विहिबार पार्टीको सचिवालय बैठक बसेर यि विषय टुङ्गो लगाउने भनिएपनि विहिबार पनि सचिवालय बैठक बस्न सकेन । अर्कोतिर श्रेष्ठ र पोख।ेलले आ–आफ्नो अडानबाट पछि नहटेपछि तेस्रो विकल्पका रुपमा बरिष्ठ नेता झलनाथ खनालको नाम अघि सारेका छन ।
यसरी दिनै पिच्छे स्कुल विभागमा थप अन्य नेताहरुले समेत दावी गर्न थालेपछि नेकपाभित्र स्कुल विभागको नेतृत्वको विषय थप अन्यौल र गंम्भिर मात्रै देखिएको छैन । नेताहरुविच यसले गुटगत राजनिति मौलाउने समेत प्रष्ट छ ।
सबैलाई लोभ्याउने स्कुल विभाग !
नेकपाको नियमावली २०७५ मा स्कुल विभाग बारे पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरुप आफ्नो तहमा नियमित वा आवधिक पार्टी स्कूल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी आफ्नो तहको पार्टी कमिटी समक्ष प्रस्तुत गर्ने उल्लेख छ ।
स्कुल विभागलाई पार्टी सदस्यहरूको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण गर्ने र त्यसलाई कार्यान्वय गर्ने जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्नुका साथै स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने जिम्मेवारी पनि यही विभागलाई छ ।
यस्तै यो विभागले प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख पनि राख्नेछ ।