फुटबलको विश्व संस्था फिफाको वरियतामा नेपाल १६६ औं स्थानमा पुगेको छ । ९ साउनमा फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा एक स्थान तल झर्दै नेपाल उक्त स्थानमा पुगेको हो ।
दक्षिण एशियाली देशहरुमध्ये नेपाल चौंथो स्थानमा छ । नेपालभन्दा माथि भारत, अफगानिस्तान र मालदिभ्स छन् । दक्षिण एशियाली देशहरुमा पाकिस्तान पुछारमा छ ।
फिफा वरियतामा बेल्जियम सबैभन्दा माथि छ । त्यसपछि एक स्थान उक्लेको ब्राजिल दोस्रो र एक स्थान तल झरेको फ्रान्स तेस्रो स्थानमा छ । फ्रान्स विश्वकप विजेता हो ।
इंग्ल्यान्ड चौंथो स्थानमा छ । उरुग्वे पाचौं, पोर्चुगल छैठौं र क्रोएसिया सातौं स्थानमा छन् । कोलम्बिया, स्पेन र अर्जेन्टिना क्रमशः आठौं, नवौं र दशौं स्थानमा छन् ।
एशियाली देशहरुमध्ये इरान सबैभन्दा माथि २३ औं स्थानमा पुगेको छ । पाँच स्थान झरेको जापान ३३ औं, कोरिया रिपब्लिक ३७ औं स्थानमा छन् ।