Logo

कालो सूचीमा परिसकेकोलाई जापान एजेन्ट



काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल र निर्देशक टंकनिधि दाहालको मिलेमतोमा कमिशन लिएर ओसाका उडानका लागि जापानमा आधिकारिक प्रतिनिधि तोकिएको खुलासा भएको छ । जापानको कम्पनि एभिएसन इन्टरनेशनल जापान कम्पनि लिमिटेड एआइजेलाई कमिशन लिएर प्रतिनिधि बनाउन पत्र समेत जापान पुगेको छ ।

पत्र पुगेपछि जापानका सुरक्षा र उड्डयनसम्बन्धि अधिकारीहरु समेत आश्चर्यमा परेका छन् । बदनाम कम्पनिको नाम जापानका लागि निगमको आधिकारिक प्रतिनिधि भनी सुरक्षा प्रक्रियाका लागि इन्टर एभियसन जापानमा आइएजेमा पत्र पठाइएको हो ।

तर, कम्पनिको बदनाम इतिहास भएकाले सुरक्षा निर्देशनबाट योग्यताको स्वीकृति पाउने सम्भावना नभएको बुझिएको छ । एजेन्ट बनाउन कमिशनको खेल भइसकेकाले खरेल र दाहालले गरेको आर्थिक चलखेल उजागर हुने देखिदैछ ।

के हो एआइजे
रिपोर्टर्स नेपाल डट कमले कम्पनिबारे खोजी गर्दा विगतमा कालो सूचीमा परिसकेको खुलेको हो । विगतमा उसले एमआइजे नाममा बर्माको एयरलाइन्सको जापान उडानको एजेन्सी लिएको थियो । उक्त कम्पनिले पैसा हिनामिना गरेपछि कालो सूचीमा परेको थियो । उसले करोडौं डलर हिनामिना गरेपछि कालो सूचीमा परेको हो ।

एमआइजे कालो सूचीमा परेपछि कम्पनिको नाम परिवर्तन गरेको थियो । बदनाम कम्पनिसँग निगमका कार्यकारी अध्यक्ष मदन खरेल र निर्देशक टंकनिधि दाहालले प्रतिनिधि तोक्ने निर्णय लिएका थिए । यसका लागि करोडौंको कमिशनको खेल भएको विश्वस्त स्रोतबाट रिपोर्टर्स नेपालले पत्ता लगाएको छ ।

एमआइजेलाई प्रतिनिधि बनाउन सेटिङ मिलाउन खुर्पु शेर्पा लागेका थिए । ट्राभल एजेन्सी खोलेर बसेका उनले विचौलियाको भूमिका निभाएर एमआइजेलाई प्रतिनिधि दिलाउन भूमिका निभाएका थिए । उनैले एआइजेका कार्यकारी निर्देशक गुनजी सुनागासँग भेटघाट गराएर आधिकारिक प्रतिनिधि बनाउने सहमति बनाएका थिए ।

कमिशनको खेलमा लागेर निगम कार्यकारी अध्यक्ष मदन खरेल र निर्देशक टंकनिधि दाहालले कालो सूचीमा परेर नाम फेरेको कम्पनिलाई रोज्नुमा व्यक्तिगत स्वार्थ रहेको निगमका एक उच्च अधिकारी बताउँछन् । जापानभित्र र बाहिर समेत बदनाम कम्पनिलाई एजेन्ट बनाउन खोज्नुमा निगमलाई डुबाउने खेल रहेको तथ्य खुल्दै गएको छ ।

कार्यकारी अध्यक्ष मदन खरेल कुनै पनि हालतमा वाइडवडीलाई उडान भर्न नदिएर असफल बनाउन खोज्दैछन् । निगमलाई संकटमा देखाएर विदेशी कम्पनिलाई सुम्पने योजना मुताबिक सबै गतिविधि भइरहेको थियो ।

जापान उडानका लागि आधिकारिक कम्पनि तोकिइसकेको र जापानबाट सुरक्षासम्बन्धी क्लियरेन्स समेत दिइसकिएको अवस्थामा चलखेल गरी खरेलले अर्को विकल्प खोज्नुमा निगम डुबाउने नियत खुल्दै गएको छ । कुनै हालतमा वाइडबडी असफल बनाएर सेतोहात्तीमा रुपान्तरण गर्न लागिपरेका छन् ।

यसअघि १८ जुलाईमा इन्टर एभिएसन जापानका कानाको टामुराले पत्र लेखी निगमलाई देवमान हिराचनले जापानका लागि निगमको आधिकारिक प्रतिनिधि बन्न सुरक्षा प्रक्रिया पूरा गरी योग्यताको प्रमाणपत्र पाइसकेको अवस्थामा पुरानो निर्णय उल्टाएर कसलाई बनाउन लागेको भनी प्रश्नसहित पत्र पठाएको थियो । पत्रमा नयाँ प्रतिनिधि नियुक्त गर्दा जापानको सुरक्षा प्रक्रियाका लागि दरखास्त दिएर सुरक्षा प्रक्रियाबाट योग्य ठहरिनुपर्ने उल्लेख थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot