साउन १०, काठमाण्डौ । अरु महिनाभन्दा साउनमा मासुजन्य पदार्थ सेवन कम हुने गर्दछ । साउनमा मासु नखाई व्रत बस्ने गर्छन । तर पनि बजारमा एक महिनादेखि खसी र कुखुराको मासुको मूल्य वृद्धि भएको हो । उपभोक्तहरुका अनुसार मासुको मुल्य किनिनसक्नु बृद्धि भएकोमा गुनासो गरेका छन् ।
पछिल्लो एक महिनायता खसी तथा कुखुराको तयारी मासुको मूल्य अत्याधिक रुपमा बढाइएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँ र खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ । जुन विगतको भन्दा निकै धेरै हो ।
अनुगमन गर्ने संयन्त्र नहुँदा कुखुराको मासुको मूल्य अचाक्ली बढाइएको हो । यदी सरकारी निकायले प्रभावकारी अनुगमन गर्ने र मूल्य बढाउनेलाई कडा कारबाही गर्ने हो भने यस्तो प्रवृत्ति कम हुने थियो । तर अनुगमन र कारबाही गर्ने निकाय आँखा चिम्लेर बसेको छ ।
असार महिनामा मात्रै तयारी कुखुराको मासुको मूल्य चारपटक बढेको थियो । असार १० गते प्रतिकिलो ३०० रुपैयाँमा थोक बिक्री भइरहेको कुखुराको मासु असार १७ गते बढेर ३१५ रुपैयाँ कायम भएको थियो । दोस्रोपटक बढेको ८ दिनपछि असार २३ मा पाँच रुपैयाँ बढेर ३२० पुग्यो । असार ३० मा चौंथोपटक बढेर मासुको मूल्य ३५० थोक कायम भएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण बिभागका अनुसार आन्तरिक मागले धान्न नसक्दा आयात गरिएको मासुका कारण मूल्य बढेको हो । राँगा–भैँसीको मासुको मूल्य पनि बढेको छ । यसको कारण पनि आयात नै भएको विभागको जवाफ छ । काठमाडौमा मात्र दैनिक १२ सय वटा खसी बोका चहिन्छ तर आन्तरिक उत्पादन ६ सय मात्रै छ । राँगा भैसी पनि ८० प्रतिशत त आयात नै गर्नुपर्ने अवस्था छ ।
जसले गर्दा तत्काल मूल्य घट्ने सम्भावना नरहेको विभागले स्पष्ट पारेको छ । मूल्य बढ्नुलाई समान्य हिसाबले लिएको विभागले अनुगमनलाई भने प्राथमिकतामा राखेको छैन ।
चौतर्फि रुपमा मासुको मूल्य बढेकोले उपभोक्तहरु मारमा परेका छन् । तर सरकारी निकाय भने बनावटी जवाफ दिएर उम्किने गरेको छ । मूल्यवृद्धिको समस्या यसपटक मात्रै होइन, विगतमा पनि तरकारी, फलफूल तथा मासुको मूल्य मनपरी बढाउने गरिएको छ । तर अनुगमन र दोषीलाई कारबाही नहुँदा उपभोक्त मर्कामा परिरहेका छन् ।