‘कार्यक्रम सफल हुने आयोजक गिनिज ईभेन्टस् नेपालको विश्वास’
काठमाडौं, ११ साउन । बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर–८ जोशीगाउँ स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका मुकेशराज जोशीले प्रतिष्ठित तथा सफल व्यक्तित्व र विभिन्न ईतिहासका किताबहरु लगातार १२५ घण्टासम्म पढेर ‘गिनिज बुक अफ वल्र्ड’मा नाम लेखाउने तयारी पूरा भएको जनाएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो बारेमा जानकारी गराईएको हो । उक्त रेकर्डका लागि स्विकृति पाईसकेका जोशीले आगामी भदौ २३ गतेबाट पढ्न सुरु गर्नेछन् । यसभन्दा अगाडि यो विद्यामा नेपालकै दीपक शर्मा बजगाँईको नाममा रेकर्ड कायम रहेको थियो । बजगाँईले सन् २००८ मा लगातार ११३ घण्टा १५ मिनेट पढेर रेकर्ड राखेका थिए ।
जोशीको उक्त कार्यक्रमको आयोजकको रुपमा गिनिज ईभेन्ट्स नेपाल रहनेछ भने सह–आयोजकको भूमिकामा गोल्डेन आइ डान्स सेन्टर रहनेछ । त्यस्तै, कार्यक्रम सफलताको लागि विभिन्न देशमा छरिएर रहेका नेपालीहरुबाट हौसलास्वरुप केही रकमपनि प्राप्त भैसकेको आयोजकले जनाएको छ । यो बीचमा उनले नेपाल सरकारका विभिन्न मन्त्री तथा सांसदहरुलाई पनि भेटिसकेका छन् । र, उनीहरुले पनि जोशीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा पूर्वमन्त्री तथा नेकपाका केन्द्रिय भानुभक्त जोशीले आफू उक्त किर्तीमानी कायम गर्नको लागि जोशीलाई जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको विश्वास दिलाए । जोशीले किर्तीमानी राखेपछि बझाङको नाम विश्वसामू चिनिने भएकोले आफूहरुले यो कार्यक्रमलाई विशेष महत्व दिएको पनि उनको भनाई छ ।
त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले जोशीले उक्त किर्तीमानी कायम गर्नेमा आफू विश्वस्त रहेको सुनाए ।
उनले भने,‘उहाँको तयारी पनि राम्रो रहेको छ भन्ने कुरा मैले आयोजकबाट सुनेको छु । त्यसैले यो विद्यामा उहाँले किर्तीमानी कायम गर्नुहुन्छ । मैले यसअघि पनि यही मञ्चबाट गिनिज ईभेन्टस् नेपालबाट घोषित कार्यक्रमको पूर्वसन्ध्यामा किर्तीमानी कायम हुन्छ भनेर घोषणा गरेको थिएँ, र पछि ती सबै कार्यक्रमहरु सफल भए । अहिले पनि म जोशीले यो किर्तीमानी कायम गर्नुहुन्छ भनेर विश्वास दिलाउन चाहन्छु ।’
आफूले जोशीलाई यो कार्यक्रम सफल तुल्याउनको लागि मिडियामार्फत सकारात्मक सहयोग र सद्भाव पु¥याउने पनि धमलाले वचनबद्धता जनाए ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष ऐन महरले उक्त विद्या विद्यार्थी वर्गसँग सम्बन्धित भएकोले जोशीलाई सबै विद्यार्थी वर्गबाट आवश्यक सहयोग हुने विश्वास दिलाए । उनले भने,‘हामी सबै विद्यार्थी संगठनको तर्फबाट उहाँलाई यो कार्यक्रम सफल बनाउनको लागि सक्दो सहयोग गर्न तयार छौं । यो त हाम्रो लागि पनि गौरवको विषय हो ।’
कार्यक्रममा चर्चित कलाकार कमल गाउँलेले जोशीलाई सिँगो कलाकारिता क्षेत्रबाट सक्दो सहयोग हुने विश्वास दिलाए । जोशीलाई उक्त कार्यक्रम सफल तुल्याउनको लागि जोशी कार्यरत रोयल क्यासिनो नेपालले पनि सक्दो सहयोग गर्ने जनाएको छ ।
परशुराम जोशी र जालदेवी जोशीको कोखबाट वि.सं. २०५४ सालमा जन्मिएका जोशीको सानैदेखि विभिन्न किताबहरु पढिरहने बानी थियो । उनले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘सानैदेखि किताबहरु पढ्ने बानी थियो, त्यसैले अहिले आएर यो विद्यामा रेकर्ड राख्ने आँट गरेको छु । यसमा तपाईहरुको साथ जोडदार रहन्छ भन्ने पनि मैले विश्वास लिएको छु ।’
युवापुस्तामा विदेश मोह बढिरहँदा नेपालमै केही सिर्जनशील बनौं भन्ने आफ्नो उद्देश्य रहेको पनि उनले सुनाएका छन् । उनले भनेका छन्,‘यसमा म उत्साहित पनि छु । नेपाललाई विश्वसामू चिनाउने यो मेरो अभियानमा मलाई आवश्यक सल्लाह तथा हौसलाको तपाईहरुबाट अपेक्षा गरेको छु।’ जोशी हाल काठमाडौंस्थित याक एण्ड यति होटलमा सञ्चालनमा रहेको ‘रोयल क्यासिनो’ मा कार्यरत छन् ।
गिनिज ईभेन्टस् नेपालका अध्यक्ष सन्तोष लामाले आफूहरुले यसअघिका सबै गिनिज बुक अफ वल्र्ड रेकर्डसम्बन्धीका कार्यक्रमहरु सफलताका साथ सम्पन्न गरिसकेकोले जोशीको उक्त कार्यक्रमपनि सफल हुने दाबी गरे ।
जोशीद्वारा जारी प्रेस विज्ञप्तीको वाचन भने गिनिज ईभेन्टस् नेपालका प्रबन्धक हरिचन्द्र लामाले गरेका थिए ।
आजको पत्रकार सम्मेलनको सञ्चालन भने अन्तर्राष्ट्रिय कराँते रेफ्री, जुम्बा ईन्स्ट्रक्टर सिर्जना अधिकारीले गरेकी थिईन् । अधिकारी गिनिज ईभेन्ट्स नेपालकी सदस्य पनि हुन् ।