काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरले नेपालसामु जितका लागि १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाउन सफल भएको हो ।
आजको खेलको विजेता अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ ।
हाल सिंगापुर ५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई हराएको थियो ।