एजेन्सी । तिव्र गतिमा रहेको कार चालकले अचानक बाटोमा कंगारु देखे । कंगारुलाई बचाउन खोज्दा कार अनियन्त्रित भयो । दक्षिणी न्यु साउन वेल्सको मोनारो राजमार्गमा अष्ट्रेलियाली समयानुसार विहान ३ बजेर ४० मिनेटमा भएको दुर्घटनामा अगाडि बसेका युवक र पछाडि बसेकी युवतीको घटनास्थलमा मृत्यु भयो ।
अष्ट्रेलियाबाट प्रकाशित हुने एबीसी न्युजका अनुसार कार सडकबाट १६० मिटर टाढा पुगेको थियो । तिव्र गतिको कार सडकबाट खस्दा पछाडि बसेकी महिला झर्न पुगेकी थिइन् । बाँकी चार जना कारमै परे । जसमध्ये अगाडि बसेकाको मृत्यु भयो । कार चालक सागर भट्टराई गम्भीर घाइते भए । पछाडि बसेकी महिला कारबाट झरेकाले गम्भीर घाइते भई घटनास्थलमा मृत्यु भएको थियो ।
दुर्घटनामा परेको कार नराम्ररी किच्चिएको छ । कारको अवस्था र दुर्घटनास्थलको तस्वीरले पनि दुर्घटनामा बाँच्ने सम्भावना कम रहेको देखिन्छ । घटनामा दुई जना बचेपनि एकको अवस्था चिन्ताजनक रहेको छ ।
घटनामा घाइते अस्वीर कँडेलले सहयोग मागेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा घाइते २२ वर्षीय चालकलाई क्यानबेरा अस्पताल लगिएको थियो । उनलाई टाउकोमा गम्भीर चोट लागेको छ । सगीत देवकोटा पनि गम्भीर घाइते छन् ।
बिदाको दिनमा रमाइलो गर्न १५ जना नेपालीहरु क्यानबेरा नजिकैको स्नोइ माउन्टेन गएका थिए । सिड्नीबाट हिउँ खेल्न गएका उनीहरु राति उडन रिजर्भमा बसेको र त्यसमध्ये पाँच जना राति नै हिउँ पर्ने पहाडतर्फ लागेका थिए । रमाइलो गर्न गएका उनीहरुमध्ये दुईको दुखान्त मृत्यु भयो । दुई जना गम्भीर घाइते भए । अष्ट्रेलियास्थित नेपाली राजदूतावासले घटनालगत्तै मृतक र घाइतेबारे जानकारी लिइरहेको बुझिएको छ । Photo: ABC News